The London College Top Banner Ad

लोकसेवा आयोगको विज्ञापन सच्याउन माग

Lok Sewa Aayog Building

स्थानीय तहका विभिन्न पदमा पदपूर्तिका लागि लोकसेवा आयोगले निकालेको विज्ञापनमा समावेशी आरक्षित सिटको व्यवस्था नगरिएकोप्रति राजनीतिक वृत्तबाटै विरोध सुरु भएको छ । 

राष्ट्रिय जनता पार्टीले आयोगको विज्ञापन त्रुटिपूर्ण रहेको भन्दै त्यसलाई अविलम्ब फिर्ता लिन माग गरेको छ । त्यस्तै सत्तारूढ दल नेकपा प्रदेश २ ले पनि विज्ञापन सच्याउन आग्रह गरेको छ । आयोगले बुधबार मुलुकभरका ५ सय १५ स्थानीय तहका लागि ९ हजार १ सय ६१ पदमा विज्ञापन गरेको छ । 

एकैचोटि यति ठूलो संख्यामा विज्ञापन गरिँदा समावेशी समूहलाई भने आयोगले बेवास्ता गरेको छ । प्रशासन, लेखा, न्याय र प्राविधिक समूहका विभिन्न तहका लागि विज्ञापन गरिएको छ तर माग गरिएको पदअनुसार समावेशी प्रतिशत छुट्याइएको छैन । मधेसी, आदिवासी जनजाति र दलित समूहका विद्यार्थीले त्यसको विरोध गरेका छन् । उनीहरूले लोकसेवा आयोगमा ज्ञापन दिनुका साथै माइतीघरमा प्रदर्शनसमेत गरेका छन् । उनीहरूलाई राजनीतिक दलको साथ पनि प्राप्त हुन थालेको छ । 

राजपा संयोजक अनिलकुमार झाले विज्ञप्ति जारी गरेर आयोगले गरेको पछिल्लो विज्ञापनले मुलुकलाई पश्चगमनतर्फ धकेल्न खोजेको आरोप लगाएका छन् । उनले संविधानका विभिन्न धाराले प्रत्याभूत गरेको महिला, मधेसी, थारू, जनजाति, मुस्लिमसमेतको हकलाई संवैधानिक आयोगले कुण्ठित गर्न खोजेको उल्लेख गरेका छन् । केन्द्रबाट विज्ञापन गरेर प्रदेशको अधिकारसमेत कुण्ठित गरिएको भन्दै राजपाले विज्ञप्तिमा स्थानीय तहले छुट्टाछुट्टै निकालिएको विज्ञापनबाट समावेशी कर्मचारी भर्ना प्रक्रिया तहसनहस हुने भनेको छ । 

आयोगले भने प्रत्येक स्थानीय तहका लागि अलग-अलग विज्ञापन गरेकाले समावेशी आरक्षित सिट कम हुन पुगेको स्पष्टीकरण दिएको छ । नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहले प्रत्येक स्थानीय तहका लागि छुट्टाछुट्टै विज्ञापनको प्रक्रियालाई मान्न नसकिने बताएका छन् । विज्ञप्ति जारी गर्दै उनले संवैधानिक निकायले परिवर्तन उल्ट्याउने र द्वन्द्व बढाउने काम गरेको आरोप लगाउँदै विज्ञापनलाई तुरुन्त रोकी संविधान र कानुनअनुसार समावेशी आरक्षित सिटको व्यवस्था गर्न माग गरेका छन् । 'प्रत्येक प्रदेशलाई एक इकाई मानेर समानुपातिक समावेशी संख्या निर्धारण गर्न सकिन्थ्यो,' उनले भनेका छन्, 'तर आयोगले समाजको आवश्यकता र सन्दर्भलाई बिर्सेर गलत मनसाय राखी संविधान र कानुनविपरीत कार्य गरेको छ ।' 

निजामती सेवाको पदपूर्तिमा समावेशी गर्नुपर्ने कानुनी प्रावधान छ । निजामती सेवा ऐनको दफा ७ मा खुला प्रतियोगिताद्वारा पूर्ति हुने पदमध्ये ४५ प्रतिशत पद समावेशी समूहका लागि छुट्याउनुपर्ने व्यवस्था छ । ४५ प्रतिशतलाई शतप्रतिशत मानेर त्यसमध्ये महिला ३३ प्रतिशत, आदिवासी जनजाति २७ प्रतिशत, मधेसी २२ प्रतिशत, दलित ९ प्रतिशत, अपांग ५ प्रतिशत र पिछिडिएको क्षेत्रका लागि ४ प्रतिशत आरक्षित सिट छुट्याएर विज्ञापन गर्नुपर्ने कानुनी प्रावधान छ । सांसद साहले निजामती ऐनमार्फत विगत कैयौं वर्षदेखि गरिँदै आएको व्यावहारिक अभ्यासलाई कुल्चँदै आयोगले निकालेको विज्ञापनलाई कुनै हालतमा सही मान्न नसकिने उल्लेख गरेका छन् । 

आयोगको विज्ञापनविरुद्ध लोकसेवाको तयारी गरिरहेका समावेशी समूहका विद्यार्थीले संघर्ष समिति बनाएका छन् । उनीहरूले शनिबार विभिन्न राजनीतिक दलका प्रतिनिधि, कानुन व्यवसायी र विद्यार्थीसँग अन्तक्रिर्या गरेका छन् । समिति संयोजक देवनारायण यादवले कुल सिटको आरक्षित ४५ प्रतिशतमध्ये २२ प्रतिशत मधेसीका लागि कोटा दिनुपर्नेमा १ दशमलव ८ प्रतिशत सिट मात्रै दिइएको बताए । 'समावेशी सिद्धान्तलाई खिल्ली उडाउने काम भएको छ,' उनले भने, 'समावेशी समूहका अन्य संघ/संगठनसँग समेत तालमेल गरेर संघर्ष गर्छौं ।' उनले संवैधानिक आयोगको निर्णयविरुद्ध आफूहरू सर्वोच्च अदालत जाने तयारी गरिरहेको बताए । -कान्तिपुरबाट

Comments