The London College Top Banner Ad

अंग्रेजी सिक्न रुचि हुनुपर्छ - यसरी सिकाउनुहोस अंग्रेजी

How to learn English

अन्तर्राष्ट्रिय सम्पर्क भाषाको रूपमा अंग्रेजी भाषाको दबदबा बढेको छ । योसँगै अंग्रेजी भाषाको औपचारिक पठनपाठन पनि विश्वव्यापी बनेको छ ।

नेपालमा अंग्रेजी भाषाकै माध्यमबाट पठनपाठन हुने विद्यालयहरूमा विद्यार्थीले अंग्रेजी भाषामा लेखपढ गर्न सिक्नु धेरै कठिन कार्य होइन । तर, सरकारी विद्यालयहरू जहाँ शिक्षाको माध्यम भाषा नेपाली छ, विद्यार्थीलाई अंगे्रजी विषय पास गर्नु ठूलो युद्ध जित्नु सरह छ ।

अंग्रेजी भाषामा विचार अभिव्यक्ति गर्ने, सामान्य बोलचालसम्म गर्ने क्षमतासमेत नबनिकनै उनीहरू एसईई पास भइसक्छन् । अपवादमा केही विद्यार्थी ती विद्यालयहरूमा पनि अब्बल दर्जाका हुन्छन् ।

अंग्रेजी भाषामा दक्षता बढाउन विभिन्न विद्वानहरूले विभिन्न सुझावहरू पनि नदिएका होइनन् । तर ती सुझावहरू जस्ताको तस्तै प्रयोगले अंग्रेजीमा विद्यार्थीमा क्षमता निर्माण सोचे जसरी भइरहेको छैन ।

साथीहरूसँग र शिक्षकसँग अंग्रेजीमै कुरा गर । गल्ती हुन सक्छ भनेर नडराऊ । नलजाऊ । रेडियोमा अंग्रेजी भाषामा प्रसारण हुने समाचार तथा कार्यक्रमहरू सुन । टीभीमा सोही प्रकृतिका कार्यक्रमहरू हेर । अंग्रेजी भाषामा छापिएका पुस्तक र पत्रपत्रिका पढ्ने बानी गर । अंग्रेजी भाषा सुधार गर्न प्रायःका सुझावहरू यस्तै हुने गर्छन् । तर यी सुझावहरू अंग्रेजीमा एक स्तरको दक्षता निर्माण गरिसकेका विद्यार्थीका लागि उपयुक्त छन् । तर, आम रूपमा ग्रामीण भेगका सरकारी विद्यालयमा अध्ययन गर्ने भाइबहिनीहरूमा माथि उल्लेखित सुझावहरू लागू गर्ने हदसम्मको क्षमतासमेत हँुदैन । त्यसैले यी सुझावहरू बेकामेजस्ता भएका छन् ।

विद्यालयमा शिक्षकले अंग्रेजी भाषा सिक्नै पर्ने भाषा हो भन्ने आभास विद्यार्थीलाई नदिलाउँदासम्म अंग्रेजी सिक्ने अभिरुचि उनीहरूमा जाग्दैन । अभिरुचि नभएसम्म सिक्ने वातावरण हुँदैन । उनीहरू वैध, अवैध तरिकाहरू प्रयोग गर्दै पास हुनेतिर लाग्छन् । जब अभिरुचिको विकास हुन्छ अनि भाषा सिक्ने तरिकाबारे सिकाइनुपर्छ त्यो पनि विद्यार्थीको स्तरअनुसार ।

अति कमजोर क्षमता (अंग्रेजी भाषामा) भएका भाइबहिनीहरूलाई उपयुक्त हुने व्यावहारिक सुझावहरू दिन सके मात्र यो फलदायी हुनेछ । नेपाली अंग्रेजी वा अंग्रेजी–नेपाली शब्दकोष खरिद गर । एक दिनमा १० वटा शब्दहरूको दरले एउटा कापीमा आफूलाई मन लागेका शब्द अंग्रेजी अर्थसहित टिप्ने गर । प्रत्येक शुक्रबार आफूले टिपेका शब्दहरूबारे साथीहरूसँग छलफल गर ।

बिस्कुट, चाउचाउ जंक फुड हुन् भनेतापनि धेरैजसोले त्यही नै खाने गरेका छौं । खानुभन्दा पहिले त्यसको बाहिरी खोल नियालेर हेर । त्यहाँ लेखिएका जानकारीहरू जान्ने प्रयास गर । कहाँ बनेको, कुन कम्पनीले बनाएको, कहिलेसम्म खान हुने के के मिसाएर बनाएको लगायतका जानकारीहरू प्रत्येक पटक खानु अगाडि हेर्ने गर ।

सामाजिक अध्ययन, विज्ञान, गणितलगायतका विषयमा पाठ्यपुस्तकमा केही शब्दहरू नेपालीमा लेखी कोष्ठकभित्र अंग्रेजीमा समेत दिइएको हुन्छन् । ती शब्दहरू डायरी वा कपीमा सार र सिक । प्रश्नपत्र सँगालो प्रायसँग नै हुन्छ । ती सँगालोमा नेपाली र अंग्रेजी विषयबाहेक कुन प्रश्न अंग्रेजीमा कसरी सोध्ने थाहा पाउन ती प्रश्न निकै काम लाग्दा हुन्छन् ।

आफ्ना किताबमा उही अक्षरबाट सुरु भएका शब्दहरू वा अन्त्यमा उही अक्षरसहित अन्त्य भएका शब्दहरू खोज । (जस्तै यूएनबाट सुरु भएका शब्दहरू वा ई आरमा अन्त्य भएका शब्दहरू ) । तिनको अर्थ र शब्दको निर्माण किन उस्तै उस्तै हुन्छ विचार गर ।

यस्ता थुप्रै उपाय हुन्छन् असाध्यै कमजोर विद्यार्थीले अ्रग्रेजी भाषा सिक्ने । तर, अभिरुचि पहिलो सर्त हो ।

(लामिछाने बेलकोटगढी नगरपालिका नुवाकोटस्थित मालिका माध्यमिक विद्यालयका अंग्रेजी शिक्षक हुन् ।)

अन्नपूर्णपोष्टमा ज्वालामुखी लामिछाने ले लेख्नुभएको लेख साभार

Comments