TLC Banner

अंग्रेजी सिक्न रुचि हुनुपर्छ - यसरी सिकाउनुहोस अंग्रेजी

How to learn English
How to learn English

अन्तर्राष्ट्रिय सम्पर्क भाषाको रूपमा अंग्रेजी भाषाको दबदबा बढेको छ । योसँगै अंग्रेजी भाषाको औपचारिक पठनपाठन पनि विश्वव्यापी बनेको छ ।

नेपालमा अंग्रेजी भाषाकै माध्यमबाट पठनपाठन हुने विद्यालयहरूमा विद्यार्थीले अंग्रेजी भाषामा लेखपढ गर्न सिक्नु धेरै कठिन कार्य होइन । तर, सरकारी विद्यालयहरू जहाँ शिक्षाको माध्यम भाषा नेपाली छ, विद्यार्थीलाई अंगे्रजी विषय पास गर्नु ठूलो युद्ध जित्नु सरह छ ।

अंग्रेजी भाषामा विचार अभिव्यक्ति गर्ने, सामान्य बोलचालसम्म गर्ने क्षमतासमेत नबनिकनै उनीहरू एसईई पास भइसक्छन् । अपवादमा केही विद्यार्थी ती विद्यालयहरूमा पनि अब्बल दर्जाका हुन्छन् ।

अंग्रेजी भाषामा दक्षता बढाउन विभिन्न विद्वानहरूले विभिन्न सुझावहरू पनि नदिएका होइनन् । तर ती सुझावहरू जस्ताको तस्तै प्रयोगले अंग्रेजीमा विद्यार्थीमा क्षमता निर्माण सोचे जसरी भइरहेको छैन ।

साथीहरूसँग र शिक्षकसँग अंग्रेजीमै कुरा गर । गल्ती हुन सक्छ भनेर नडराऊ । नलजाऊ । रेडियोमा अंग्रेजी भाषामा प्रसारण हुने समाचार तथा कार्यक्रमहरू सुन । टीभीमा सोही प्रकृतिका कार्यक्रमहरू हेर । अंग्रेजी भाषामा छापिएका पुस्तक र पत्रपत्रिका पढ्ने बानी गर । अंग्रेजी भाषा सुधार गर्न प्रायःका सुझावहरू यस्तै हुने गर्छन् । तर यी सुझावहरू अंग्रेजीमा एक स्तरको दक्षता निर्माण गरिसकेका विद्यार्थीका लागि उपयुक्त छन् । तर, आम रूपमा ग्रामीण भेगका सरकारी विद्यालयमा अध्ययन गर्ने भाइबहिनीहरूमा माथि उल्लेखित सुझावहरू लागू गर्ने हदसम्मको क्षमतासमेत हँुदैन । त्यसैले यी सुझावहरू बेकामेजस्ता भएका छन् ।

विद्यालयमा शिक्षकले अंग्रेजी भाषा सिक्नै पर्ने भाषा हो भन्ने आभास विद्यार्थीलाई नदिलाउँदासम्म अंग्रेजी सिक्ने अभिरुचि उनीहरूमा जाग्दैन । अभिरुचि नभएसम्म सिक्ने वातावरण हुँदैन । उनीहरू वैध, अवैध तरिकाहरू प्रयोग गर्दै पास हुनेतिर लाग्छन् । जब अभिरुचिको विकास हुन्छ अनि भाषा सिक्ने तरिकाबारे सिकाइनुपर्छ त्यो पनि विद्यार्थीको स्तरअनुसार ।

अति कमजोर क्षमता (अंग्रेजी भाषामा) भएका भाइबहिनीहरूलाई उपयुक्त हुने व्यावहारिक सुझावहरू दिन सके मात्र यो फलदायी हुनेछ । नेपाली अंग्रेजी वा अंग्रेजी–नेपाली शब्दकोष खरिद गर । एक दिनमा १० वटा शब्दहरूको दरले एउटा कापीमा आफूलाई मन लागेका शब्द अंग्रेजी अर्थसहित टिप्ने गर । प्रत्येक शुक्रबार आफूले टिपेका शब्दहरूबारे साथीहरूसँग छलफल गर ।

बिस्कुट, चाउचाउ जंक फुड हुन् भनेतापनि धेरैजसोले त्यही नै खाने गरेका छौं । खानुभन्दा पहिले त्यसको बाहिरी खोल नियालेर हेर । त्यहाँ लेखिएका जानकारीहरू जान्ने प्रयास गर । कहाँ बनेको, कुन कम्पनीले बनाएको, कहिलेसम्म खान हुने के के मिसाएर बनाएको लगायतका जानकारीहरू प्रत्येक पटक खानु अगाडि हेर्ने गर ।

सामाजिक अध्ययन, विज्ञान, गणितलगायतका विषयमा पाठ्यपुस्तकमा केही शब्दहरू नेपालीमा लेखी कोष्ठकभित्र अंग्रेजीमा समेत दिइएको हुन्छन् । ती शब्दहरू डायरी वा कपीमा सार र सिक । प्रश्नपत्र सँगालो प्रायसँग नै हुन्छ । ती सँगालोमा नेपाली र अंग्रेजी विषयबाहेक कुन प्रश्न अंग्रेजीमा कसरी सोध्ने थाहा पाउन ती प्रश्न निकै काम लाग्दा हुन्छन् ।

आफ्ना किताबमा उही अक्षरबाट सुरु भएका शब्दहरू वा अन्त्यमा उही अक्षरसहित अन्त्य भएका शब्दहरू खोज । (जस्तै यूएनबाट सुरु भएका शब्दहरू वा ई आरमा अन्त्य भएका शब्दहरू ) । तिनको अर्थ र शब्दको निर्माण किन उस्तै उस्तै हुन्छ विचार गर ।

यस्ता थुप्रै उपाय हुन्छन् असाध्यै कमजोर विद्यार्थीले अ्रग्रेजी भाषा सिक्ने । तर, अभिरुचि पहिलो सर्त हो ।

(लामिछाने बेलकोटगढी नगरपालिका नुवाकोटस्थित मालिका माध्यमिक विद्यालयका अंग्रेजी शिक्षक हुन् ।)

अन्नपूर्णपोष्टमा ज्वालामुखी लामिछाने ले लेख्नुभएको लेख साभार

Last updated on Jan 25, 2026

Found this helpful? Share it with your friends.

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.