TLC Banner

पढाइले ठूलो होइन, असल बनाओस्

education
education

एउटा साहित्यिक कार्यक्रममा एक जना प्राध्यापक भन्दै हुनुहुन्थ्यो, ‘नर्सरीका बिरुवाहरूलाई अब नैतिक तथा मानवीय संस्कृतिले सिञ्चन गर्नु आवश्यक भएको छ ।’ हाम्रो समाजमा दिनानुदिन नैतिक खडेरी फराकिलो हुँदै गरेको सन्दर्भमा उहाँको आशय रूखका बिरुवाप्रति नभई नर्सरी कक्षा पढ्ने बालबालिकाप्रति लक्षित देखिन्थ्यो ।

हुन पनि सृष्टिको सर्वश्रेष्ठ प्राणीको ताज पहिरिएका हामीले आज मानवताका निम्नतम मूल्यहरूको हेक्का राख्नसम्म सकेका छैनौं । के गर्न हुने र के नहुनेको सीमारेखासम्म भेटिँदैन । जसले जे सक्छ, त्यही गरिरहेको छ । निरङ्कुश तन्त्रबाट उन्मुक्ति पाएर प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रसम्म आइपुग्दा हामी ‘लुटतन्त्र’ नै सर्वाधिक शक्तिशाली भएको अनुभव गर्न विवश छौं । त्यसैले त ‘लुट्न सके लुट् कान्छा...’ जस्ता गीत लोकप्रिय हुने गरेका छन् । क्षणभरका लागि रमाइलो लागे पनि कला–साहित्यमा प्रस्तुत गरिने यस्ता व्यङ्ग्यात्मक यथार्थको अर्को पाटोले हाम्रो समाज नैतिक रूपमा कति स्खलित भइरहेको छ भन्ने देखाउँछ ।

कक्षाकोठामा बाङ्देलको ‘लङ्गडाको साथी’ उपन्यास पढाइरहँदा, सडक–गल्लीमा घस्रेर माग्दै पेट पालिरहेको निरीह अनि विकलाङ्ग पात्रलाई स्कुले विद्यार्थीले ‘भुइँभालु’ भन्दै जिस्क्याउने, जाडोले कठ्याङ्ग्रिएको उसलाई हिउँका डल्लाले हिर्काएर मनोरञ्जन लिने प्रसङ्गले मेरो मनमा प्रश्न उब्जाउने गर्छ— मानवता नै पढ्न नसकेपछि के पढेछन् त हाम्रा बालबालिकाले ? मानवीय व्यवहार नै नजानेका उनीहरूको मस्तिष्कमा शिक्षा र ज्ञानको भण्डारै खन्याइदिए पनि त्यसले समाजलाई सकारात्मक गतिप्रदान गर्ला र ?

सामाजिक, राजनीतिक, आर्थिक, शैक्षिक, प्रशासनिक आदि सबै क्षेत्रमा नैतिकता र मानवीय संवेदनाभन्दा भ्रष्टाचार र कमिसनतन्त्रको जालो देखिन्छ । शिक्षित एवं उच्चपदस्थ व्यक्तिहरूमा जनअपेक्षाअनुरूपको नैतिक आचरणको अभाव हुनुले हाम्रो शिक्षा प्रणालीलाई नै उपहास गरिरहेको छ ।

जनताको सेवा तथा देशको विकास गर्न भनी जनमत लिएर राज्यसत्तामा पुग्नेहरू सुविधाभोगी बन्दै जानु, सत्ता र शक्तिलाई देश र जनताका लागिभन्दा आफू र आफ्ना आसेपासेको हितमा प्रयोग गर्नु अनि आफूलाई मालिक र आम नागरिकलाई रैतीका रूपमा हेर्नु हाम्रो राजनीतिक संस्कार बनेको छ । राजनीतिजस्तो सेवामुखी कर्म नाफामुखी व्यवसायमा परिणत भैरहेको छ ।

आर्थिक र प्रशासनिक क्षेत्रमा पनि नैतिकता र इमानदारीको खडेरी छ । सरकारले तोकेको समान तलब सुविधा भएका समान स्तरका कर्मचारीमध्ये कसैको आर्थिक हैसियत सगरमाथामा पुगेको देखिन्छ भने कसैको जहाँको तहीँ । सेवानिवृत्त हुँदा कसैसँग निवृत्तिभरणबाहेक जीविकाको विकल्प हुँदैन भने कसैसँग पुस्तौं पुग्ने अकुत सम्पत्ति हुन्छ । नैतिक आचरण र इमानदारी नै यी दुइटै परिस्थितिका भेदक हुन् ।

व्यक्तिगत स्वार्थमा अन्धो भएको आजको मान्छेले मानवता र नैतिकता मात्र होइन, जीवनको अन्तिम सत्यलाई पनि बिर्सिरहेको छ । त्यसैले ऊ जनताको पसिनाले भरेको ढुकुटी दुरुफयोग गरेर, राष्ट्रलाई खोत्र्याएर, भावी विपत्तिको पर्बाह नगरी प्रकृतिको दोहन गरेर आफ्नै पोल्टा भरिरहेको छ । कुनै कानुनबाट ऊ डराउँदैन । अनेक प्रपञ्च रचेर आफूलाई निर्दोष साबित गर्न खोजिरहन्छ ।

उसको अन्तर्मनले आफूलाई अपराधी मानेकै हुँदैन ! त्यसैले आजको मान्छेलाई आत्मबोध र आत्मज्ञानको आवश्यकता छ । हाम्रो शिक्षाले मानिसलाई ठूलो बनाउने उद्देश्य राखेको छ, असल बनाउन खोजेको देखिँदैन । त्यसैले होला विश्वेश्वरप्रसाद कोइरालाको ‘मोदिआइन’ उपन्यासकी मोदिआइनले बालपात्रलाई भनेकी ‘नानी, ठूलो नहुनू । वीर नहुनू । असल हुनू, असल... ।’ सही शिक्षा त्यही हो जसले मानिसलाई असल बनाउने क्षमता राख्छ ।

विकसित मुलुकका नागरिकहरूमा चाहिँ नैतिक आचरण र मानवीय मूल्यप्रति सचेतता नै देखिन्छ । उनीहरू हरेक पेसा तथा समाज अनि राज्यका नियमको सम्मान गर्छन् । त्यहाँका उच्चपदस्थहरू हाम्राले झैं कारिन्दालाई छाता र जुत्ता बोकाउँदैनन् । उनीहरू भूतपूर्व भैसकेपछि पनि राज्यको सुविधा लिँदैनन् बरु निस्फिक्री आफ्नो पेसामा संलग्न हुन्छन् । हाम्रो शिक्षाले चाहिँ केवल अर्थोपार्जनको उद्देश्य राखेको छ । जीवन निर्वाहका लागि सक्षम नागरिक बनाउने उद्देश्य आफैमा अनुचित होइन, तर नैतिक आचरण नभएको नागरिक के काम ?

नैतिकता र मानवीय मूल्य शिक्षाको अभिन्न अङ्ग हो भन्ने यथार्थ मनन गरी अब प्रारम्भिक तहमा पढ्ने बालबालिकालाई सर्वप्रथम सुसंस्कृत बनाउनेतिर लाग्नुपर्छ । उनीहरूले बुझ्ने शैलीमा, खेलकुद या कथा–प्रसङ्गका माध्यमबाट उनीहरूमा उदात्त चरित्रनिर्माणको आरम्भ गरिदिनुपर्छ ।

विद्यालयमा सिकेका कुरा र आफ्ना शिक्षकको वाणीलाई मात्र सत्य ठान्ने कलिला मस्तिष्कहरूमा नैतिक आचरण, अनुशासन अनि मानवीय मूल्यका सूत्रहरू भरिदिन नसक्ने हो भने विश्वविद्यालयका कक्षामा कवि वर्डस्वर्थको ‘कवि मानवताको गुरु होइन भने केही पनि होइन’ भन्ने भनाइ रटाउँदै नीतिपरक समालोचना पढाउनु वा ‘स्वतन्त्रता, समानता, भ्रातृत्व’ को सूत्र घोकाउँदै रुसोको मानवतावदादी चिन्तन पढाउनु अथवा देवकोटाको ‘भिखारी’ वा लेखनाथको ‘तरुण–तपसी’ पढाउनुको के औचित्य ?

त्यसैले समाजमा विद्यमान विकृति–विसङ्गतिको न्यूनीकरणका लागि प्रौढ पुस्तामा होइन, बाल पुस्तामै नैतिक र मानवीय मूल्य आरोपित गरिनुपर्छ । यसका लागि राज्यको शैक्षिक निकाय तथा सम्बद्ध पक्ष गम्भीर बन्नुपर्ने आवश्यकता देखिन्छ । 

(यो लेख कान्तिपुर दैनिक मा साधना प्रतीक्षा ले लेख्नु भएको हो ।)

Last updated on May 15, 2026

Found this helpful? Share it with your friends.

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.