TLC Banner

कक्षा ११-१२ मा गणित विषयको उपेक्षा किन? - डा. जीवन काफ्ले

mathematics
mathematics

लेखक- डा. जीवन काफ्ले,

पाठ्यक्रम विकास केन्द्र (सीडीसी) ले कक्षा ११ र १२ का निम्ति तयार पारेको भनिएको नयाँ पाठ्यक्रमको प्रारूप विगत दुई वर्षदेखि विवादको विषय भइरहेको छ। गणित विषयमा भइरहेको विवाद त झनै पेचिलो बनेको छ। विज्ञान तथा प्रविधिका मेरुदण्डका रूपमा रहेको गणित विषय पढ्न नपाउने स्थिति उत्पन्न हुनु विवादको मुख्य कारण हो। प्रस्तावित पाठ्यक्रमअनुसार जीव विज्ञान, रसायनशास्त्र र भौतिक विज्ञान पढ्ने विद्यार्थीले गणित विषयलाई मूल विषय बनाउन पाउँदैनन्।

गणित यस्तो विषय हो, जुन सबै प्राकृतिक र सामाजिक विज्ञानको अध्ययनमा अधिकतम उपयोग गर्नुपर्ने हुन्छ। तर स्कुल तहमा गणित विषयको पृष्ठभूमि नहुने हो भने सबै विषयको ज्ञान अपूर्ण हुन्छ। विशेषतः यो विषयले विद्यार्थीमा हरेक विषयबारेमा तार्किक, वस्तुगत तथा वैज्ञानिक ढंगले अध्ययन, विश्लेषण र मूल्यांकन गर्ने क्षमता विकास गराउँछ नै; विद्यार्थीलाई खोज-अनुसन्धान गर्ने सामर्थ्य पनि विकास गराउँछ। तसर्थ गणित विषय सम्पूर्ण ज्ञान-विज्ञान तथा भौतिक समृद्धिको प्रविधिको आधारस्तम्भ हो। यो विषयको ज्ञानविना भौतिक समृद्धिको सुदृढ जग बसाउँछौं भत्रु दिवास्वप्न मात्र हो।

सञ्चालनमा रहेको प्रारूपमा विज्ञान विधाका विद्यार्थीले ११ कक्षामा अंगेजी अनिवार्य र चारवटा ऐच्छिक विषय गरी जम्मा पाँचवटा विषय र १२ कक्षामा अंग्रेजी र नेपाली विषयलाई अनिवार्य गरिएको छ। त्यस्तै तीनवटा ऐच्छिक गरी जम्मा पाँचवटा विषय पढ्छन्। तर सीडीसीले बनाएको नयाँ पाठ्यक्रमको प्रारूपअनुसार ११ कक्षामा अंग्रेजी, नेपाली, सामाजिक शिक्षाजस्ता तीनवटा विषयलाई अनिवार्य र तीनवटा ऐच्छिक विषय गरेर ६ वटा विषय पढ्नुपर्ने स्थिति सृजना गरिँदै छ। यस्तै १२ कक्षामा पनि अनिवार्य विषयका रूपमा अंग्रेजी, नेपाली र जीवनोपयोगी र तीनवटा ऐच्छिक विषय गरेर जम्मा ६ वटा पढ्नुपर्ने अवस्था सृजना गरिँदै छ।

सीडीसीले ल्याउन खोजेको पाठ्यक्रम कार्यान्वयन हुने हो भने जीव विज्ञान, भौतिकशास्त्र र रसायनशास्त्र पढ्ने विद्यार्थीले ननक्रेडिट विषयका रूपमा सातौं पत्रका रूपमा पढे पनि गणित विषयलाई मूल विषय बनाएर पढ्न पाउने छैनन्। यसरी विद्यार्थीको बौद्धिक, तार्किक र प्राविधिक सामथ्र्य बढाउने गणित तथा विज्ञान विषयहरूलाई अनिवार्य नगरी ननक्रेडिटमा हुत्याउने नीतिले समुन्नत नेपालको निर्माण गर्न सहयोग पुग्छ?

गणित तथा विज्ञान विषयको धरातल अतिशय दुर्बल हुने गरी पाठ्यक्रमको प्रारूप तयार गर्नुका पछाडि सम्बद्ध पक्षले विज्ञान प्रविधिजस्तो विधा पढ्न सकेनन्, रुचि भएन, उत्तीर्ण प्रतिशत ज्यादै कम भयो भन्ने असंगत तर्क अघि सार्ने गरेको छ। यस्तै सरदरमा हरेक वर्ष कक्षा ११ मा दुई लाख ५० हजार विद्यार्थी भर्ना हुन्छन्। तीमध्ये विज्ञान विषय लिई पढ्ने विद्यार्थी करिब ५० हजार मात्र हुन्छन्; त्यसैले ठूलो हिस्सा ओगटेको विद्यार्थी वर्गलाई लक्ष्यित गरी पाठ्यक्रमको प्रारूप बनाइएको हो भन्ने तर्क पनि अगाडि सारिएको छ।

यस्तै कक्षा ११ र १२ विद्यार्थीको उत्तीर्ण प्रतिशत कम भयो भनेर पनि गणितजस्ता विषयलाई पन्छाएर सामाजिक विज्ञानका विषयलाई अनिवार्य बनाइँदै छ। यसबाट करिब पचासौं हजारको संख्यामा रहेको विपुल प्रतिभावान् विद्यार्थी वर्गलाई विज्ञान तथा प्रविधि विषय पढ्ने अवसरबाट वञ्चित गरिँदै छ। अझ असाधारण प्रतिभावान् विद्यार्थीका निम्ति विज्ञान तथा गणित आफैंमा जीवनोपयोगी विषय हुँदै हो; राष्ट्रिय जीवनको समृद्धिका लागि पनि झनै उपयोगी विषय हो। तसर्थ यस्तो महत्‍वपूर्ण विषयलाई उपेक्षा गर्ने र पन्छाउने प्रवृत्तिले के समुन्नत नेपालको निर्माण हुन सक्छ? उच्च, दक्ष र बौद्धिक जनशक्ति उत्पादन गर्ने पाठ्यक्रम बनाउनुको सट्टा उत्तीर्ण प्रतिशत बढाउने खेलमा पाठ्यक्रमलाई अपांग बनाउन हुन्छ? माध्यमिक शिक्षालाई प्रमाणपत्र वितरण गर्ने थलो बनाउने हो?

पचासौं हजारको संख्यामा रहे पनि विराट् प्रतिभासम्पन्न विद्यार्थीको प्रविधि विषय पढ्ने अवसरबाट वञ्चित गर्न मिल्छ? विद्यार्थी कम उत्तीर्ण हुनुका पछाडिको कारण विषय गाह्रो हो कि योग्य, अनुभवी, तालिम प्राप्त शिक्षक, भौतिक तथा शैक्षिक सामग्री, उपयुक्त शैक्षिक वातावरणको अभावमा हो? यस्तै स्थिति हो भने आर्थिक दृष्टिले सम्पन्न अभिभावकले आफ्ना छोराछोरीलाई भारतीय शिक्षण संस्थामा लगेर पढाउन थाल्छन्। ठूलो धनराशि पलायन हुन्छ र राष्ट्रिय अर्थतन्त्रसमेत दुर्बल हुन्छ। यस्ता अनेक नकारात्मक परिणाम देखिने छन्। यस दिशातर्फ सम्बद्ध पक्षको ध्यान किन जाँदैन?

हालै त्रिविको इन्जिनियरिङ अध्ययन सस्ंथान (आईओई) मा प्रवेश परीक्षामा गणितको भार ४० बाट बढाएर ५० अंक बनाइएको छ। यसले गणितको महत्‍व इन्जिनियरिङ पढ्ने विद्यार्थीलाई कति महत्‍वपूर्ण छ भन्ने स्वतः प्रमाणित गर्छ। त्रिविमा इन्जिनियरिङ पढ्न कक्षा ११ र १२ मा दुई सय पूर्णांकबराबरको गणित विषय पढ्नु अनिवार्य छ। पोखरा र पूर्वाञ्चल विश्वविद्यालयमा बायोलोजी समूहका विद्यार्थीले कक्षा ११ मा १०० पूर्णांकको भए पनि गणित पढेर इञ्जिनियरिङमा प्रवेश पाउने सुविधा उपभोग गरिरहेका छन्।

प्रस्तावित पाठ्यक्रमलाई कार्यान्वयन गर्ने हो भने विद्यार्थीहरू इन्जिनियरिङ पढ्ने अवसरबाट पनि वञ्चित हुने दुर्भाग्यपूर्ण अवस्था सृजना हुनेछ। त्यस्तै वन विज्ञान, कृषि विज्ञान, विम्याथएससीजस्ता विषय पढ्न पनि कक्षा ११ वा १२ मा सय पूर्णांकको गणित र जीव विज्ञान विषय पढेको हुनैपर्छ। तर अब लागू गर्न खोजिएको पाठ्यक्रमअनुसार भौतिक विज्ञान समूहले जीव विज्ञान पढ्न नपाउने र जीव विज्ञान समूहले गणित पढ्न नपाउने अवस्था छ।

उच्च शिक्षाका क्षेत्रमा मात्र होइन, रोजगारका क्षेत्रको उपयोग गर्ने अवसरबाट पनि प्रस्तावित पाठ्यक्रमको प्रारूपले विद्यार्थीलाई वञ्चित गर्ने छ। जागिरका लागि विभिन्न पदमा परीक्षा दिँदा गणित र आईक्यु विधा समावेश गरिएको हुन्छ। विदेशमा अध्ययन गर्नका लागि एप्चिच्युट टेस्ट जस्तै जीआरई, स्याट, जिम्याटहरूमा पनि अत्यधिक रूपमा गणितका प्रश्न समावेश गरिएका हुन्छन्। हालसम्मको व्यवस्थाअनुसार भविष्यमा सीए, बीबीए र आईटी पढ्छु भन्ने विद्यार्थीले गणित र व्यावसायिक गणित विषय पढ्न पाउँथे। तर प्रस्तावित पाठ्यक्रमअनुसार म्यानेजमेन्ट पढ्ने विद्यार्थी चाहँदाचाहँदै पनि गणित र व्यावसायिक गणित दुवै पढ्न पाउने अवसरबाट पनि वञ्चित हुने देखिन्छ।

 

भौतिक विज्ञान, रसायनशास्त्र, जीव विज्ञान, तथ्यांकशास्त्र, लेखाजस्ता विषय अन्तरसम्बन्धित हुन्छन्। यीमध्ये गणित विषय सबैको जग हो। यो विषयको जगविना अन्य कुनै पनि विषयमा दक्षता हासिल गर्छु भन्नु जगविनाको गगनचुम्बी महलको कल्पना गर्नु मात्र हो। त्यसैले सर्वप्रथम विषयको अन्तरसम्बन्ध के हो, कुन विषय पढ्दा पढाउँदा उच्च शिक्षाको सरणीहरूमा उच्चतम सफलता हासिल गर्न सकिन्छ भन्ने स्पष्ट मार्गचित्र देखाउनु जरुरी थियो। तसर्थ सीडीसीले यी यावत् कुराको संवेदनशीलता नहेरी र पाठ्यक्रमको प्रारूपबारेमा बौद्धिक जगत्सँग छलपल, बहस र विचारविमर्श नगरी एकैपटक पाठ्यक्रम र पाठ्यपुस्तकसमेत प्रकाशनमा ल्याउने तयारी गरेको छ, यो दुर्भाग्यपूर्ण हो।

सरकारले ल्याएको राष्ट्रिय शिक्षा नीतिमा सबै तहको शिक्षामा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित शिक्षालाई पाठ्क्रमको अभिन्न अंग बनाउने उल्लेख छ। सीडीसीले ल्याउन खोजेको पाठ्यक्रमको प्रारूपमा यस नीतिलाई समेत बेवास्ता गरेको देखिन्छ। आजको समाजमा सुन्ने र घोक्ने गणित होइन; सुन्ने, देख्ने र प्रयोग गर्नेे गणित आवश्यक छ। तसर्थ पाठ्यक्रम र पाठ्यपुस्तक तयार पार्दा विज्ञहरूले राष्ट्रिय आवश्यकता, विद्यार्थीको सामथ्र्य, सुदूर भविष्य, रुचि तथा समकालीन विश्वका विभिन्न देशहरूमा भएको सफल प्रयोग र प्रचलनतर्फ ध्यान दिएको देखिएन।

लेखक: डा. जीवन काफ्ले

(काफ्ले केन्द्रीय गणित विभाग त्रिविका उपप्राध्यापक हुन्। यो लेख अन्नपूर्णपोष्ट मा पनि प्रकाशित छ।)

Last updated on Jan 29, 2026

Found this helpful? Share it with your friends.

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.