नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्व शिक्षामन्त्री धनीराम पौडेलको आज बिहान निधन भएको छ । पौडेलको हृदयघातका कारण निधन भएको नेकपा चितवन जिल्ला अध्यक्ष यमबहादुर परियार जानकारी दिएका छन।
पौडेलको घर चितवनको माडी नगरपालिका–५ नयाँ पिपरिया रहेको छ । घर निर्माणका क्रममा काम गर्दैगर्दा बिहान ७ बजेतिर पौडललाई हृदयघात भएको थियो । उनलाई माडीस्थित बगौडा अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको जिल्ला अध्यक्ष परियारले बताएका छन।
उनी जनमोर्चासँग एकीकरणका क्रममा तत्कालीन माओवादीमा आवद्ध भएका थिए । ५३ वर्षीय पौडेल हाल नेकपाको केन्द्रीय सदस्य हुन् । दोश्रो संविधानसभा चुनावमा समानुपातिक सांसद हुँदै प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री हुँदा शिक्षामन्त्रीको जिम्मेवारी पाएका थिए । पौडेलका दुई छोरी छन् ।उनकी श्रीमती गंगा वेल्वासे पनि राजनीतिमै छिन ।