TLC Banner

उपदान लिने प्राथमिक शिक्षक मुस्किलले एसएलसी पास

School Teacher
School Teacher

उपदानका लागि आवेदन दिएका प्राथमिक तहका अधिकांश अस्थायी शिक्षकले दुई वा तीन पटकमा साविकको एसएलसी परीक्षा उत्तीर्ण गरेको पाइएको छ । एकै पटकमा एसएलसी परीक्षा उत्तीर्ण गरेकाहरूमध्ये अधिकांशले तेस्रो श्रेणीमा सो परीक्षा उत्तीर्ण गरेको पनि पाइएको छ ।

शिक्षक पदको आन्तरिक स्थायी परीक्षामा अनुत्तीर्ण भई उपदानका लागि आवेदन दिएका शिक्षकहरूको विवरण रुजु गर्ने कार्य भइरहेको छ । ती शिक्षकले बुझाएको शैक्षिक प्रमाणपत्र देखेपछि विद्यालय शिक्षक किताबखानाका पदाधिकारीहरू चकित परेका छन् । एसएलसी परीक्षा हम्मेहम्मे गरी उत्तीर्ण भएकालाई विगतमा भनसुनका आधारमा शिक्षक बनाइएको रहेछ भन्ने विषय किताबखानामा यतिबेला निकै चर्चामा छ ।

किताबखानाका उपसचिव रवीन्द्रकुमार बुढापिर्थीले भन्नुभयो, “अधिकांश शिक्षक पटक पटक परीक्षा दिएर एसएलसी परीक्षा उत्तीर्ण गरेका रहेछन् वा बल्लतल्ल तेस्रो श्रेणीमा उत्तीर्ण गरेका छन् । ” किताबखानाका कर्मचारीहरूका अनुसार निम्न माध्यमिक र माध्यमिक तहमा विगतमा अध्यापन गरेका अस्थायी शिक्षकले तेस्रो वा दोस्रो श्रेणीमा प्रमाणपत्र तह अथवा स्नातक तह उत्तीर्ण गरेका थिए । बुझाइएका प्रमाणपत्र हेर्दा विज्ञान र गणित विषय अध्यापन गरेका अधिकांश दोस्रो श्रेणीमा उत्तीर्ण गरेका अस्थायी शिक्षक थिए । 

मुस्किलले तेस्रो श्रेणीमा वा पटक पटक गरी एसएलसी परीक्षा उत्तीर्ण गरेका शिक्षकलाई प्राथमिक तहमा अध्यापनको जिम्मेवारी दिँदा विद्यार्थीको जगमै असर पु¥याउने शिक्षाविद्हरूको भनाइ छ । काठमाडौँ विश्वविद्यालयका शिक्षाविद् डा. वासुदेव सुवेदीले शिक्षकको कमजोर शैक्षिक योग्यताले विद्यार्थीको सिकाइमा प्रत्यक्ष प्रभाव पार्ने बताउँदै भन्नुभयो, “प्रथम वा विशिष्ट श्रेणीमा उत्तीर्ण गरेकाले अध्यापन गर्नुपर्छ । त्यसैले यो पेसा विशिष्ट हुन्छ । ”

शिक्षक सेवा आयोगले अध्यापन अनुमतिका लागि न्यूनतम ५० अङ्क ल्याउनुपर्ने नियम बनाएको छ तर शिक्षक पदका लागि लिइने लिखित परीक्षामा न्यूनतम ४० अङ्क ल्याए पुग्छ । छुट्टयाइएको २५ अङ्कमध्ये अन्तर्वार्ताका लागि १० अङ्क, अनुभवका लागि १२ अङ्क र उत्तीर्ण श्रेणीका लागि तीन अङ्क दिने व्यवस्था छ । २०६५ साल यता प्राथमिक र निम्न माध्यमिक तहमा न्यूनतम शैक्षिक योग्यता कक्षा १२ तथा माध्यमिक तहमा स्नातक उत्तीर्ण भएको हुनुपर्ने नियम लागू गरिएको छ । उत्तीर्ण श्रेणीका लागि छुट्याइएको तीन अङ्कमध्ये प्रथम श्रेणीका लागि तीन अङ्क, दोस्रो श्रेणीका लागि दुई अङ्क र तेस्रो श्रेणीका लागि एक अङ्क दिने नियम छ ।

आयोगले अनुभवको अङ्क बढी राख्दा लिखित परीक्षामा कम अङ्क ल्याएकालाई छनोट हुन सहज बनेको छ । यद्यपि आयोग अनुभवको अङ्कलाई घटाएर पाँचमा सीमित राख्ने गरी नियमावली संशोधन गर्न लागिरहेको छ । माथिल्लो योग्यता हासिल गरेकालाई दुई अङ्क दिने र उत्तीर्ण श्रेणीको तीन अङ्कलाई घटाएर दुईमा झार्न प्रस्ताव गरेको थाहा भएको छ ।

आयोगका उपसचिव रामराज खकुरेलले पछिल्लो समयमा लिखित परीक्षा उत्तीर्ण गर्ने शिक्षकहरूको शैक्षिक प्रमाणपत्र हेर्दा अधिकाँश दोस्रो श्रेणीमा उत्तीर्ण भएको पाइएको बताउँदै भन्नुभयो, “शिक्षक पदको लिखित परीक्षामा न्यूनतम प्राप्त गर्नुपर्ने अङ्क बढाउने हाल कुनै सोच छैन । बरु धेरैले न्यूनतम शैक्षिक योग्यताभन्दा माथिल्लो शैक्षिक योग्यता हासिल गरेकाहरू हुने गरेका छन् । ”

काठमाडौँ विश्वविद्यालयका शिक्षाविद् डा. सुवेदीले शिक्षक पदको लिखित परीक्षामा न्यूनतम आधार ५० प्रतिशत पु¥याउँदा प्रतिस्पर्धा बढ्ने र त्यसबाट योग्य व्यक्ति शिक्षकका रूपमा छनोट हुनसक्ने बताउनुभयो । ईआरओका महानिर्देशक टेकनारायण पाण्डेले शिक्षकको योग्यताले विद्यार्थीको सिकाइमा प्रभाव पर्ने गरेको बताउँदै भन्नुभयो, “कति प्रभाव पार्छ भन्ने बारेमा थप अनुसन्धान हुन बाँकी छ । ” -गोरखापत्रबाट

Last updated on Jan 29, 2026

Found this helpful? Share it with your friends.

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.