TLC Banner

विद्यालयमा सामाजिक सञ्जाल र मोबाइल फोन सञ्चालन तथा प्रयोगसम्बन्धी मार्ग निर्देशनमा यस्तो व्यवस्था छ

Use of mobile Phone in school
Use of mobile Phone in school

काठमाडौं । सामाजिक सञ्जाल चलाउने शिक्षकले आफ्नो वास्तविक फोटो राख्नुपर्ने र प्रोफाइल विवरण पनि साँचो नै राख्नुपर्ने प्रावधान रहेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको सामाजिक सञ्जाल र मोबाइल फोन सञ्चालन तथा प्रयोगसम्बन्धी मार्ग निर्देशनले यस्तो व्यवस्था गरेको हो ।

शिक्षकले कक्षाकोठामा र शिक्षण सिकाइ क्रियाकलापलाई नकारात्मक प्रभाव पार्नेगरी कक्षाकोठाभित्र मोबाइल प्रयोग गर्न नपाइने व्यवस्था पनि उक्त मार्ग निर्देशनमा उल्लेख छ । तर शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्ने प्रयोजनका लागि मोबाइल फोनलाई साधनको रूपमा भने प्रयोग गर्न सकिने व्यवस्था छ ।

मार्ग निर्देशनले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र सो अन्तर्गतका निकायमा कर्मचारीहरू र विद्यालय वा विश्वविद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको सामाजिक सञ्जालको प्रयोगसम्बन्धी कार्यको अनुगमन गर्न प्रत्येक विद्यालय र कार्यालयमा सामाजिक सञ्जाल सञ्चालन तथा नियमन सम्बन्धमा सान्दर्भिक शाखा वा व्यक्ति तोक्नुपर्ने प्रावधान पनि राखेको छ ।

‘सरकारको नीति, मन्त्रालय वा सरकारी निकायका निर्णय, प्रस्तावित नीति आफ्नो व्यक्तिगत सामाजिक सञ्जालमा आदानप्रदान (शेयर) गर्न र सकारात्मक टिप्पणी गर्न पाइने मार्गनिर्देशनमा व्यवस्था छ । तर त्यस्ता विषयमा नकारात्मक टीकाटिप्पणी गर्न वा व्यंग्यात्मक शैलीमा टिप्पणी गर्न, नकारात्मक टिप्पणी लाइक गर्न तथा शेयर गर्ने कार्य निजामती कर्मचारी तथा विद्यालय एवं विश्वविद्यालयमा कार्यरत शिक्षक कर्मचारीको आचारसंहिता विपरीत हुने हुँदा त्यस्ता कार्य गर्न भने पाइने छैन ।

सम्मानित र राजनीतिक व्यक्तित्वको चरित्र हत्या गर्ने, कुनै दल वा सम्प्रदाय विशेषको पक्ष वा विपक्षमा विचार व्यक्त गर्ने, सरकारी सेवामा रहेका वा सेवा निवृत्त कर्मचारीका सम्बन्धमा प्रकाशित अप्रमाणित नकारात्मक समाचारमा टिप्पणी, त्यस्तो टिप्पणी र लाइक तथा शेयर गर्न मार्गनिर्देशनले रोक लगाएको छ ।

विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको सामाजिक सञ्जालको प्रयोगको अनुगमन सम्बन्धित प्रधानाध्यापकले गरी सोको अभिलेख राख्ने प्रबन्ध मार्गनिर्देशनले गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक, कर्मचारीको सामाजिक सञ्जाल र मोबाइल फोन दुरुपयोग नियन्त्रणका लागि मार्गनिर्देशन जारी गरिएको दाबी गर्दै आएको छ ।

सामाजिक सञ्जालको सही प्रयोग नहुँदा त्यसको दुरुपयोगबाट राष्ट्रसेवक कर्मचारी र शिक्षकको आचरणासमेत प्रश्न उठ्ने सम्भावना रहेकाले त्यस्ता दुरुपयोग नियन्त्रण गर्न सो मार्गनिर्देशन जारी भएको बताइएको छ ।

शिक्षा मन्त्रालय र मातहतका निकायका सार्वजनिक सेवा प्रवाहका क्रममा भए गरेका काम कारबाही, प्रस्तावित नीति तथा कार्यक्रमजस्ता विषयमा अमर्यादित भाषामा टीकाटिप्पणी गर्ने, आन्तरिक विषय परिपक्व नहुँदै सार्वजनिक गर्ने तथा सरकारी नीतिविपरीतका भनाइ सामाजिक सञ्जालमा ‘पोस्ट’ गर्ने कार्यलाई मार्ग निर्देशनले निषेध गरेको छ ।

निर्देशिकाको उल्लंघन भएमा साइबर अपराध कानूनबमोजिम कारबाहीका सम्बन्धित निकायका लेखी पठाइनेसमेत उल्लेख छ । ६ बुँदे उक्त मार्ग निर्देशनले सार्वजनिक सेवामा आबद्ध व्यक्तिको मानमर्दन हुनेगरी सञ्जालमा टीकाटिप्पणी गर्ने, सरुवा, बढुवा लगायत विषयमा पक्ष/विपक्षमा विभाजित भई मन्त्रालय र कर्मचारीबाट सामाजिक सञ्जालमा अभिव्यक्त हुने कार्यको निगरानी गर्ने व्यवस्थासमेत गरिएको छ ।

शिक्षा मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत ‘सामाजिक सञ्जाल र मोबाइल फोन सञ्चालन तथा प्रयोगसम्बन्धी मार्गनिर्देशन २०७५’ मार्फत मन्त्रालयले फेसबुक, ट्वीटर, इमो, भाइबरजस्ता सामाजिक सञ्जाल आफूखुशी प्रयोग गर्न रोक लगाएको उल्लेख गरेको छ । मार्गनिर्देशनमा कार्यालयको खर्चमा भ्रमण गर्ने व्यक्तिले व्यक्तिगत रूपमा खिचिएको धार्मिक स्थल, बाटो, तालतलैया वा भ्रमण गरिएका स्थानको तस्वीरसमेत सामाजिक सञ्जालमा राख्न नपाइने उल्लेख छ ।

त्यसैगरी कुनै कार्यक्रम सञ्चालन भइरहेको अवस्थामा सहभागीले मोबाइल फोन प्रयोग गरी अनावश्यक फोटो खिच्न नपाइने भनिएको छ । कुनै कारणवश खिचेमा स्वीकृति नलिई सामाजिक सञ्जालमा राख्न, टिप्पणी तथा लाइक गर्नसमेत रोक लगाइएको छ । क्यामेराले फोटो खिच्न पाइने वा नपाइने विषयमा भने मार्गनिर्देशन मौन छ । विनाअनुमति अपलोड, टिप्पणी, लाइक र शेयर गरे प्रतिलिपि अधिकार र व्यक्तिगत गोपनीयताको हकविरुद्ध कार्य गरेको भनी आवश्यक कारबाही अघि बढाउने उल्लेख छ ।

मन्त्रालय र मातहतका निकायले गरेका काम–कारबाहीमा चित्त नबुझे टीकाटिप्पणी गर्न वा नकारात्मक सूचना, समाचार प्रकाशित भए कर्मचारीले लाइक, शेयर र कमेन्ट गर्न प्रतिबन्ध लगाइएको छ । कार्यालयको आधिकारिक पेज र ह्यान्डलमा संस्थाको बोर्ड देखिने फोटो र कभर तस्वीर राख्नुपर्ने मापदण्ड तोकिएको छ । त्यसमा कार्यालयको पूरा नाम राख्न भनिएको छ ।

जारी मार्गनिर्देशनमा कार्यालयका एकभन्दा बढी पेज भए बन्द गर्नुपर्ने पनि उल्लेख छ । संस्थागत सामाजिक सञ्जाल चलाउने व्यक्तिको विवरण सम्बन्धित निकायमा पेश गर्न गर्नुपर्ने व्यवस्था पनि गरिएको छ ।

मन्त्रीस्तरीय बैठकले जारी गरेको मार्गनिर्देशनमा कुनै सम्प्रदाय विशेषको पक्ष वा विपक्षमा विचार व्यक्त गर्ने, अरूले विचार गरेको वा शेयर गरेको नकारात्मक विषयको टिप्पणी र शेयर गर्ने, सम्मानित व्यक्तिको चरित्रको सम्बन्धमा अनावश्यक टिप्पणी गर्ने, राजनीतिक पार्टीको झन्डा फेसबुकको कभर फोटोमा राख्ने, चुनावको समयमा राजनीतिक पार्टीको झन्डा वा उम्मेदवारको फोटो शेयर गर्नेलगायत कार्य सामाजिक सञ्जालमा नियमन गर्नु आवश्यक भएपछि मन्त्रालयले मार्गनिर्देशन ल्याएको बताइएको छ ।

कर्मचारीले कार्यालयको कार्यकक्ष र बैठक कक्षमा मोबाइल फोनलाई भाइब्रेशनमा राख्नुपर्ने, बैठकमा बस्दा वा कुनै समारोहमा रहँदा मोबाइल फोनलाई साइलेन्ट मोडमा राख्नुपर्ने पनि उल्लेख छ । सामाजिक सञ्जालका आधिकारिक पेजहरू वा ह्यान्डलहरूमा सम्प्रेषण गरिने सूचना तथा सामग्री सम्बन्धित संस्थाका कर्मचारीको व्यक्तिगत छविलाई नभई संस्थाको सकारात्मक गतिविधिलाई प्रस्तुत गर्ने खालको हुनुपर्ने, पेजको प्रोफाइल फोटोमा व्यक्तिगत फोटो नराखी सम्बन्धित संस्थाको बोर्ड देखिने गरी फोटो वा कभर फोटो राख्नुपर्ने पनि मार्गनिर्देशनमा उल्लेख छ ।

संस्थाको पूरा नाम राख्न नसकिए वेबसाइटमा उल्लेख भएको नाम राख्ने र व्याख्या खण्डमा पूरा नाम र ठेगाना अंग्रेजी वा नेपाली भाषामा राख्नुपर्ने व्यवस्था गरिएको छ । यो निर्देशिकालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको गत कात्तिक १४ गते भएको मन्त्रीस्तरीय निर्णयबाट लागू गरिएको । - आर्थिक अभियानबाट

Last updated on Jan 28, 2026

Found this helpful? Share it with your friends.

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.