TLC Banner

बारपाकको विद्यालय ‘रिसोर्ट’ जस्तै बन्यो - सबै विद्यालय यस्तै सुविधा सम्पन्न बन्न सकुन

Himalaya Secondary School Gorkha Building with Well Facility
Himalaya Secondary School Gorkha Building with Well Facility

स्तरिय भवन, झिलिमिली बत्ती, एउटाबाट अर्को भवनमा जाने ढलान बाटो। उज्यालो र फराकिलो कक्षाकोठा। सफा शौचालय। झट्ट हेर्दा रिसोर्ट जस्तो लाग्ने यो संरचना हो २०७२ बैशाख १२ गते भुकम्पको केन्द्रबिन्दु बारपाकको हिमालय माध्यामिक विद्यालय। पहिलो पटक यो ठाउँमा पुग्ने जो कोहि पनि भन्छन् यो कुन रिसोर्ट हो?

भुकम्पमा ध्वस्त भएपछि जाइकाको सहयोगमा केन्द्रिय आयोजना कार्यन्वयन ईकाई (शिक्षा) ले करिब ११ करोड रुपैयाँ लगानीमा भवन निर्माण गरेको हो। शौचालय सहित ७ वटा ब्लकमा निर्माणमा भएको उक्त विद्यालयमा स्तरिय ल्याव, पुस्तकालय, बहुउद्देश्यीय भवन तयार भएको छ। भुकम्प प्रतिरोधी यी संरचना निर्माण भएपछि टहरामा बसेका विद्यार्थीलाई पक्की संरचनामा पढाउन सहज भएको विद्यालयका प्रधानाध्यापक जनिबहादुर घलेले बताए। ‘छानो पनि गाह्रो पनि जस्तामा तीन वर्ष बिताउँदा निकै दुःख भएको थियो, अहिले यो भवनले यस अघिको पीडा भुलाएको छ’ उनले नागरिक न्यूजसँग भने।

छ सय भन्दाबढि विद्यार्थी पढ्ने हिमालय मावि भुकम्प यता गत आर्थिक वर्षसम्म जस्ताको अस्थायी टहरामा संचालन भएको थियो। गौरा कन्ट्रक्सनले निर्माण गरेको उक्त विद्यालय काम सुरु भएको दूइ वर्षमा पुरा भएको हो। उक्त भवनको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहिबार एक कार्यक्रमबीच हस्तान्तरण गरेका हुन्। विद्यालय उद्घाटन गर्दै उनले भने ‘विपत्तिले विनास मात्रै गरेको छैन, यो एउटा अवसर पनि हो, अहिले हामीले यसलाई सौभाग्यको रुपमा पनि लिनुपर्छ।’ भुकम्प गएकै कारण बारपाकमा विद्यालय स्तरिय पक्की बनेको, सामुदायिक भवन, वडा कार्यालयहरु, स्वास्थ्य चौकी पनि स्तरिय बनेको, बलियो घर ठडिएको भन्दै मुख्यमन्त्री गुरुङले यसको उपयोग र संरक्षणमा ध्यान दिन स्थानीयलाई सुझाव दिए। ‘भवन मात्रै स्तरिय भएर हुँदैन, अब तपाइहरुले विद्यालयको गुणस्तर बढाउनमा ध्यान दिनुहोस्, केही सहयोग गर्नुपरेमा स्थानीय र प्रदेश सरकारले मद्धत गर्नेछ’ मुख्यमन्त्री गुरुङले भने।

२०१७ सालमा स्थापना भएको हिमालय मावि बारपाकमा बाल कक्षादेखि १२ सम्म संचालित छ। कर्मचारी र शिक्षक सहित २७ जना कार्यरत छन्। अविभावक र शिक्षकको लगावले विद्यालयको गुणस्तर बढाउन सकिने भवन उद्घाटन कार्यक्रममा सहभागीले सुझाव दिएका छन्। भुकम्प जाँदा क्षती पुगेका पाँच सय १३ सामुदायिक विद्यालयमध्ये मर्ज भएर अहिले चार सय ३४ वटा कायम छन्। यी मध्ये गोरखामा दुई सय ९० विद्यालयको पुन निर्माण सकिएको छ भने एक सय २२ वटाको पुन निर्माण धमाधम चलिरहेको छ। आउँदो वर्षभित्र विद्यालय पुन निर्माण सिध्याउने गरी काम भइरहेको केन्द्रिय आयोजना कार्यन्वयन ईकाई (शिक्षा) गोरखाले जनाएको छ। जाइकाले मात्रै गोरखामा ६१ वटा सामुदायिक विद्यालय निर्माणको जिम्मा लिएको छ। अधिकांश निर्माण पुरा भएको र केही निर्माणको चरणमा छ। बारपाकमा स्वास्थ्य चौकी, वडा कार्यालय, विद्यालय भवन जाइकाको सहयोगमा निर्माण भएको छ। बारपाकमा जस्तै भुकम्पले ध्वस्त भएका विद्यालय पुन निर्माण गर्ने अभियानमा पुननिर्माण प्राधिकरण लागेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुशिल ज्ञवालीले बताए।

ठेकेदारको लारपर्वाहीले बारपाकसम्म पुग्ने सडक समयमै कालोपत्रे हुन नसकेको भन्दै कार्यक्रममा सहभागी जनप्रतिनिधि र स्थानीयले मुख्यमन्त्रीसँग गुनासो पोखेका थिए। स्थानीयको गुनासोपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ठेकेदारलाई खोजेर काम लगाउने आश्वासन दिएका छन्। ‘ठेकेदारलाई खोजेर काम लगाउनेछु, काम भएन भने मलाई हेल्लो मुख्यमन्त्री कार्यक्रममा गुनासो गर्न पनि सक्नुहुनेछ’ उनले भने। एक वर्षभित्र गण्डकी प्रदेशभरी खानेपानी पु-याउने र पाँच वर्षभित्र घरघरमा बिजुली बाल्ने योजना रहेको उनले बताए। -नागरिक बाट

Last updated on Jan 24, 2026

Found this helpful? Share it with your friends.

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.