TLC Banner

सामाजिक विषयको पाठ्यक्रम पूरा गर्नै धौ धौ

Social Study
Social Study

माध्यमिक तहमा सामाजिक अध्ययन विषय अध्यापन गराउने शिक्षकले जति प्रयास गर्दा पनि शैक्षिक सत्रभित्र पाठ्यक्रम पूरा गर्न आफूहरूलाई हम्मेहम्मे पर्ने गरेको बताउनुभएको छ । यसले गर्दा विद्यार्थीको सिकाई उपलब्धि प्रभावकारी हुन नसकेको शिक्षकको भनाइ छ ।

कीर्तिपुर नगरपालिका र राराहिल स्कुलले उक्त क्षेत्रका विद्यालयमा सामाजिक विषय पढाउने शिक्षकहरुसँग शनिवार आयोजना भएको छलफल कार्यक्रममा सामाजिक शिक्षक गोविन्द भण्डारीले सामाजिक शिक्षा एकीकृत पाठ्यक्रम भएकाले शिक्षकलाई अध्यापनमा समस्या देखिएको बताउनुभयो ।

समाज, भूगोल, इतिहास, राजनीतिशास्त्र, अर्थशास्त्र, मानवशास्त्र तथा समसायिक विषयको संयोजन सामाजिकमा हुँदा त्यसलाई विद्यार्थीले बुझने गरी पढाउन समस्या भएको उहाँ बताउनुहुन्छ । यसले शिक्षकलाई अध्यापनमा समस्यामा परेको र यसको प्रभाव एसईई परीक्षामा समेत देखिएको जनाइएको छ । गोरखनाथ माविका शिक्षक पवित्रा शर्मा विद्यार्थीको बुझन सक्ने हैसियतभन्दा माथिल्लो स्तरको पाठ्यक्रम राखिँदा पठनपाठनमा समस्या भएको बताउनुहुन्छ ।

यसमा स्थानीय तहका विषय समेत समावेश गरेर परिमार्जन गरिनुपर्ने खाँचो उहाँले औंल्याउनुभयो । कितावका आधारमा मात्र सामाजिक विषय पढाउन नसकिने भन्दै उहाँले अध्यापनका लागि स्रोत सामग्रीको अभाव भएको बताउनुभयो ।

टौडदह माविका सामाजिक शिक्षक लोकेन्द्र भट्टले विषय सहज देखिए पनि सामाजिक पढाउन कक्षा कोठामा पस्नु चुनौती भएको बताउनुभयो । पाठ्यक्रम लामो छ, धेरै विविधता छ, सबै विषय विद्यार्थीलाई बुझाउन र रमाउने गरी पढाउन सबैभन्दा समस्या भयो शिक्षक भट्टले बताउनुभयो । विदा नलिई पढाए पनि निर्धारित समयमा कोर्ष पूरा गर्न सधैँ धौ धौ हुने गरेको उहाँ बताउनुहुन्छ ।

कीर्तिपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख टंकलाल गैरेले विद्यालयमा सामाजिक विषय पढाउन निकै समस्या भएको उल्लेख गर्दै समस्याको पहिचान गरेर अगाडि बढ्न शिक्षकहरुसित छलफल कार्यक्रम आयोजना गरिएको बताउनुभयो । - गोरखापत्रबाट

 

Last updated on Jan 28, 2026

Found this helpful? Share it with your friends.

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.