TLC Banner

किशोरावस्थाका बालबालिकालाई यसरी सही सल्लाह दिनुहोस

Child Counselling
Child Counselling

हिजोआज किशोरावस्थाका बालबालिकाहरूमा अनावश्यक वादविवाद गर्ने, झगडा गर्ने, भनेको कुरा नमान्ने, आमाबुसँग कडा स्वरमा झर्केर बोल्ने लगायतका प्रवृत्ति देखिन्छ । अचेलका बालबालिका न आफ्ना आमाबाबुले भनेका कुराहरू मान्न तयार हुन्छन् न कुनै जिम्मेवारी वहन गर्न चाहन्छन् । आमाबाबुहरू बच्चाहरूको उज्ज्वल भविष्यका लागि कडा मेहनत गर्दागर्दै पनि यस्तो स्थितिमा निराश हुनु स्वाभाविक हुन्छ ।

त्यसैले यस्ता कुराहरूमा प्रत्येक आमाबाबुले विशेष सतर्कता अपनाउनु पर्छ । छुट्टीको दिन जब आमाले आफ्नो १२ वर्षीय छोरा विक्रमलाई घरबाहिर साथीकहाँ खेल्न जाँदा रोक्छ तब विक्रमले आफ्नी आमालाई जवाफ दिन्छ, तपाई त कस्ती छुच्ची । मेरो इच्छा लागेको खेल पनि खेल्न जान नदिने ? यसरी छोराले आफूलाई छुच्ची शब्द निकालेर रिसाउँदा उनीलाई धेरै रिस उठ्छ । तर, छोरालाई सम्झाउँदै भन्छिन्, विक्रम तिमी सानै छौ, यो उमेरमा तिमी ठूलो व्यक्ति सरह बाहिर खेल्न जानु हुँदैन ।

बाटामा गाडी र मोटरसाइकलहरू गुडिरहेका हुन्छन्, दुर्घटना हुन सक्छ । तिम्रै लागि भनेकी हुँ । तर तिमीले मलाई उल्टै छुच्ची भनेर गाली ग¥यौं । जबसम्म तिमी आफै सम्हालिन सक्दैनौं तबसम्म तिमीले आफ्नोे गलत काम रोक्न सक्नु पर्दछ । तर, मैले भनेको कुरा कहिल्यै मान्दैनौ, उल्टै मलाई जवाफ दिन्छौं ? के असल बालबालिकाले यस्तो काम गर्छन् ? आमाको यस्तो कुरा सुनेर विक्रम चुप भयो र आफ्नो गल्ती महसुस ग¥यो । बेलाबेलामा विक्रम जस्ता बच्चाहरूको गल्ती बताएर उनीहरूको बानी सुधार्न अति आवश्यक छ । यस्तो बानी सुधार्न सकिएन भने यसले विकराल रूप लिन्छ । जसले बच्चाहरू झगडालु, जिद्दी स्वभावको भई सुधार्ने नसकिने अवस्थामा पुग्छन् । त्यसैले हेरक आमाबाबुले सही र गलत के हो आफ्ना छोराछोरीको हरेक बानीको विचार गरी उनीहरूलाई गल्तीको महसुस गराइरहनु पर्छ ।

यस्तै किशोरावस्थाका बच्चाहरूलाई प्रेम र आत्मीयका साथ माया गर्नु आवश्यक छ । १६ वर्षीया छोरी राति ढिलो घर फर्केको देखेर उनको बुबाको रिसको सीमा रहेन । बुबाले भन्नुहुन्छ, छोरी तिमी त केटी मान्छे हो । यसरी ढिला आउने हो ? छोरीलाई रिस उठ्छ र भन्छिन्, बुबा, यस्तो आधुनिक जमानामा पनि छोरा र छोरीमा भेदभाव गर्नु हुने ? यस्तो पुरानो सोच हटाउनुस् ।

छोरीको यस्तो बोली सुनेर बुबालाई रिस त उठ्छ । तैपनि बुबाले सानो स्वरमा छोरी भोलि तिमीलाई पछुतो हुन्छ । अहिले तिमी आफ्नो कोठामा जाऊ । यस विषयमा भोलि कुरा गरौंला भनेर सम्झाउँदा राम्रो हुन्छ । यी उदाहरण मात्र हुन् । खास गरी यस्तो बेलामा किशोरकिशोरीहरूसित बहस नगर्नु नै राम्रो हुन्छ । उनीहरूको मनस्थिति ठीक नभएको अवस्थामा बहस गरिरह्यो भने उल्टै परिस्थिति बिग्रन सक्छ । यस्तो स्थितिमा अर्को दिनका लागि तर्कवितर्क स्थगित गर्नु आवश्यक छ । अर्को दिन बुबाले सम्झाउन थाले, छोरी हिजो के काम प¥यो र किन ढिलो आएकी ? मैले के नराम्रो कुरा गरें र तिमीले मलाई पुरानो र नयाँ जमानाको कुरा ग¥यौं । राति ढिलो घर आउने तिमी, मलाई उल्टै आधुनिकताको कुरा सिकाउने ? बुबाको कुरा सुनेर छोरी आफ्नो भनाइप्रति गल्ती महसुस गर्छिन् र माफी माग्दै भन्छिन्, बुबा हिजो मैले गल्ती गरेको रहेछु । मैले हजुरले भनेको कुरा नमानेर चित्त दुखाएछु । त्यसका लागि क्षमा चाहन्छु । अब यसरी गल्ती हुँदैन, बुबा ।

बच्चाहरू जानीबुझी कहिल्यै यस्तो गल्ती गर्दैनन् । यसको पछाडि धेरै कारण छन् । जस्तै खराब साथीभाइको संगत, आमाबुबाले चाहिनेभन्दा बढी स्वतन्त्रता दिनु आदि । आमाबुबाले उनीहरूको स्थिति हेरेर सम्झाउने गर्नु पर्दछ । बच्चाहरूलाई आमाबुबाले आफ्नो भावनाको कदर गर्छन् भन्ने महसुस होस् । आफ्नै घरपरिवारबाट पनि बच्चाहरूलाई अनुकूल वा प्रतिकूल प्रभाव पर्न सक्छ ।

जब बच्चाहरूले आफूभन्दा ठूला सदस्यबीच झगडा गरेको र झर्केर बोलेको देखेर पनि आफूले त्यस्तै सिकेको हुन सक्छ । त्यसैल समस्याको मुख्य कारण पत्ता लगाउनु अभिभावकको प्रमुख कर्तव्य हो । आमाबुबाद्वारा बच्चादेखि नै राम्रो संस्कार, उचित अनुशासन र प्रेमपूर्वक उनीहरूलाई असल बनाउने वातावरण तयार पार्न सक्नु पर्दछ । सानै उमेरदेखि राम्रो शिक्षा र संस्कार दिन सक्यौ भने जुनसुकै बच्चाहरू पनि नराम्रो बानीबाट टाढै रहन सक्छन् । (लेखक मेरिडियन इन्टरनेसनल स्कुलकी शिक्षिका हुनुहुन्छ ।) - नागरिक बाट साभार

Last updated on Jan 29, 2026

Found this helpful? Share it with your friends.

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.