TLC Banner

म्याग्दी जिल्लामा आयोजित शैक्षिक महोत्सव सम्पन्न

Myagdi Education Fair
Myagdi Education Fair

बेनी, १९ जेठ (रासस):  मुलुकको विकास र समृद्धिको लागि दक्ष जनशक्ति उत्पादन आवश्यक रहेकाले स्थानीय तहले समेत शिक्षा नीति बनाउँदा उपयोगी र प्राविधिक शिक्षालाई जोड दिनुपर्ने आवश्यकता औँल्याइएको छ ।

बेनी नगरपालिका–६ अर्थुङ्गेस्थित जामुनाखर्क मावि द्वारा आयोजित जिल्लामै पहिलो शैक्षिक महोत्सवका अवसरमा आयोजित ‘बृहत् शैक्षिक बहस’ कार्यक्रममा प्राडा कर्णबहादुर बानियाँले स्थानीय स्रोत साधनलाई सदुपयोग गर्ने लक्ष्यसहित शिक्षाको नीति बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालको सङ्घीय संरचनामा स्थानीय तहको शिक्षासम्बन्धी अधिकार र अङ्गिकार गर्नुपर्ने नीतिको खाँचो औँल्याउनुभयो ।

सो अवसरमा प्राडा होमबहादुर बरुवाल र प्रा किरण सापकोटाले टिप्पणी गर्दै स्थानीय तहको सम्भावना उजागर गर्ने, प्राविधिक शिक्षालाई सर्वसुलभ बनाउने खालको शिक्षा नीति निर्माणमा स्थानीय तहले बृहत् छलफलमार्फत शिक्षा नीति निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

‘शिक्षा, विज्ञान, प्रविधि, कला र साहित्यको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ चार दिनसम्म सञ्चालन भएको महोत्सवमा विविध शैक्षिक प्रतियोगिता, शैक्षिक बहस, बृहत् अन्तरक्रिया र गतिविधि समावेश गरिएको थियो ।  

महोत्सवमा अन्तर मावि जिल्लास्तरीय हाजिरी जवाफ, ‘समृद्धिको लागि शिक्षा’ विषयक वक्तृत्वकला, खुला कविता प्रतियोगिता, कवि गोष्ठी, विद्यार्थी र युवाको प्रतिभा प्रदर्शनलगायतका कार्यक्रमलाई समेत समावेश गरिएको थियो ।

महोत्सवमा विभिन्न विद्यालयका विद्यार्थीद्वारा निर्माण गरिएका शैक्षिक सामग्रीको प्रदर्शनसहित विद्यालयमा अध्ययन गरेर उच्च शिक्षा हासिल गर्दै विभिन्न सरकारी सेवा र बैंक तथा वित्तीय संस्थाको माथिल्लो तहमा पुग्न सफल भूतपूर्व विद्यार्थी, अभिभावक र सरोकारवालासँग समेत बृहत् अन्तरक्रिया गरिएको विद्यालयका प्रअ सोमनाथ ढुङ्गानाले जानकारी दिनुभयो ।

महोत्सव समापन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले जिल्लामा पहिलोपटक आयोजना गरिएको शैक्षिक महोत्सवले शिक्षा क्षेत्रमा सरोकार राख्नेहरुका लागि महत्वपूर्ण सन्देश प्रवाह गरेको बताउनुभयो । 

सो अवसरमा नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेल, कृषि वैज्ञानिक डा टीका कार्कीले विद्यालयको शिक्षा नीति र पढाउने शैलीलाई परिवर्तन गर्न स्थानीय सरकारले चासो दिनुपर्नेमा जोड दिनुभयो ।

Last updated on Jan 24, 2026

Found this helpful? Share it with your friends.

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.