यज्ञराज उपाध्याय, काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को चौधौं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्यतामा भएको सभामा पानसमा दियो बालेर कार्यक्रमको उद्घाटन गर्दै मन्त्री भट्टराईले इक्यानले नेपालको शैक्षिक गतिविधि संगै नेपालका विद्यार्थीहरुलाई विदेशमा पढ्न जानका लागि सहजीकरण गर्नमा महत्त्वपूर्ण भुमिका खेलेको दाबी गर्नुभयो ।
वहाँले हाल ५ लाख भन्दा बढी विद्यार्थीहरु विश्वका विभिन्न देशका विश्वविद्यालय वा कलेजमा अध्ययनरत रहेको स्पष्ट पार्दै सरकारको लगानीमा पढिरहेका विद्यार्थीहरुले देशमै आएर सेवा गर्नुपर्ने र देश विकासका लागि सहयात्री बन्नुपर्ने बताउनुभयो । मन्त्री भट्टराईले कतिपय ठाउँमा नेपाल सरकारको लगानीमा पढिरहेको तर नेपालमा नआएर त्यतै बस्ने योजनामा रहेको प्रशंग जोड्दै यसो भन्नुभएको हो । ‘नाम नभनौं एक ठाउँमा पाँच सय विद्यार्थी पढ्दा रहेछन् र तिनीहरु मध्ये ५० प्रतिशत विद्यार्थी नेपाल सरकारको छात्रवृतिमा पढिरहेका रहेछन् तर उनीहरु नेपालमा केही गर्ने भन्दा पनि त्यतैको स्थायी बसोबास गर्ने योजनामा रहेछन्,’ मन्त्री भट्टराईले थप्नुभयो, ‘सरकारले पढाइरहेका यी विद्यार्थीले नेपालमा आएर यहाँका गाउँ, पहाडमा सेवा गरे देश विकासमा टेवा पुग्थ्यो ।’
यो संगै वहाँले कसैको इच्छा, चाहनालाई कसैले पनि प्रतिबन्ध लगाउन नसक्ने भएकाले मान्छे जहाँ पनि जान सक्ने, पढ्न सक्ने, काम गर्न सक्ने, अनुभव बटुल्न सक्ने दाबी गर्दै यदि आफ्नो देशमै केही गरौं भन्ने सोच्ने हो भने मात्र देश विकास हुने जिकिर गर्नुभयो । अन्य कुराहरु संगै बौद्धिक शक्ति पनि अहिले एक महत्त्वपूर्ण कुरा भएकाले मान्छेका अनुभव, ज्ञान, सीप, प्राविधिक कुरा जोडिएको बौद्धिक शक्ति राष्ट्रको हितमा लागे धेरै राम्रो हुने बताउनुभयो । वहाँले विदेशमा पढेर डाक्टर भएका नेपालका विद्यार्थीहरुलाई आफुले ठट्टा गर्दै कुनै बेला म देशको प्रधानमन्त्री भएँ भने प्लेन चार्टर गरेर तपाईहरुलाई उठाएर लिने भनेको रमाइलो कुरा उठाउदै देशको जवाफदेहीता प्रती र आफुले विदेश पठाएका विद्यार्थी नेपालमै फर्काएर केही गर्न सक्ने बनाउन गम्भीर हुन इक्यानलाई सुझाव समेत दिनुभयो ।
यो लगायत वहाँले भर्खरै सरकारले २० लाख पर्यटक नेपाल ल्याउने संकल्प लिएर भव्यताका साथ उद्घाटन गरेको नेपाल भ्रमण वर्ष २०२० का बारेमा बोल्दै फोहोर भएका ठाउँ सफा गरिने, भत्के, बिग्रेका ठाउँ बनाइने र संगै पर्यटक समेत ल्याउदै गर्ने बताउदै पर्यटक नेपाल ल्याउन इक्यानको महत्त्वपूर्ण भुमिका रहने बताउनुभयो ।
संघका अध्यक्ष विष्णुहरी पाण्डेको सभाध्यक्षतामा भएको कार्यक्रममा उपस्थित अतिथिहरुलाई संघका प्रथम उपाध्यक्ष महेशबाबू तिमिल्सिनाले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा उपभोक्ता हित संरक्षक मञ्चका अध्यक्ष ज्योति बाँनिया, नायरका अध्यक्ष उद्दव खड्का, फेकनका राष्ट्रिय अध्यक्ष युवराज कटुवाल लगायतले नयाँ चयन हुने कार्यसमितिलाइ कार्यकालको शुभकामना दिदै मन्तव्य राख्नुभएको थियो ।