The London College Top Banner Ad

मलाई जति गाली गर्नु छ, देशमै गर्नुस, विदेशमा गएर विदेशीका अगाडी किन? - मन्त्रि भट्टराई

Minister Yogesh Bhattrai at ECAN 14th AGM

यज्ञराज उपाध्याय; काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री मन्त्री योगेश भट्टराईले शनिबार नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को चौधौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै विदेशीहरुका अगाडी नेपाललाई गाली गर्ने मान्छे नेपाली हुन नसक्ने दाबी गरेका छन् ।

उनले नेपाल भ्रमण वर्ष २०२० को अष्ट्रेलिया, मलेसिया लगायतका देशमा संगै उद्घाटन गर्ने क्रममा अष्ट्रेलियामा भएको सामान्य कुरालाई लिएर देशकै बेइज्जत गर्न खोजेको कुरा सम्झेर आक्रोशित हुँदै भने, “प्रधानमन्त्रीलाई जति गाली गर्नु छ, मलाई जति गाली गर्नु छ, देशमै गर्नुस न, विदेशमा गएर विदेशीका अगाडी किन नेपाललाई गाली गरेर देशको बेइज्जत गर्नुहुन्छ ?,” उनले आक्रोश थाम्न नसकी पुनः थपे, “यस्ता मान्छे नेपाली हुन सक्दैनन्, देशभक्त हुन सक्दैनन् ।”

प्रधानमन्त्रीलाई गाली गर्न, आफुलाई गाली गर्न देशमै आउन र गाली गर्न आग्रह गर्दै उनले विदेशमा नेपालको बेइज्जत नगर्न आग्रह गरे । उनले भने, “विदेशीको अगाडी त नेपालको बखानै गर्नुपर्छ नि !”

दुनियाँमा जहाँ गए पनि आफ्नो देशलाई बिर्सन नहुने भन्दै नेपालबाट विदेश गएकाहरु नेपालका दुतहरु भएको र उनीहरूले त्यहाँ नेपालको प्रचारप्रसार गर्नुपर्ने, नेपाल चिनाउनुपर्ने, नेपालका बारेमा सकारात्मक कुराहरु भन्नुपर्ने बताए । यतिमात्र नभई इक्यानमार्फत विश्वका विभिन्न देशका विश्वविद्यालयमा पढ्न जाने विद्यार्थीहरुलाई देशका बारेमा सकारात्मक रहन, नकारात्मक कुराहरु बिर्सन, विदेशमा नेपाल चिनाउन तालिम दिएर पठाउनुपर्ने र त्यसका लागि आफ्नो मन्त्रालयले सहयोग समेत गर्न दाबी गरे । उनले नेपाल गरिब, विपन्न, पछौटेपनमा रहेता पनि सधैं यस्तै अवस्थामा देश नरहने बताउदै अब बिस्तारै विकासको गतिमा बढेको, सुध्रदै गएको पनि दाबी गरे ।

सरकारले वार्षिक २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यमा साथ जनवरी १ तारिखका दिन राष्ट्रपतिद्वारा तामझामका साथ उद्घाटन गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन निकै व्यस्त र मन्त्रालयको हिसाबले पनि यो अभियानको नेतृत्व गरिरहेका मन्त्री भट्टराईले नेपालमा २० लाख पर्यटक ल्याउन इक्यानले महत्त्वपूर्ण भुमिका निर्वाह गर्नसक्ने र गर्नुपर्ने बताए । उनले शैक्षिक क्षेत्रका कुराहरु समेत जोड्दै विदेशमा पढ्न जाने विद्यार्थीहरुले अध्ययन सकेपछि देशमै आएर सेवा गर्नुपर्ने र देशको विकासमा लाग्नुपर्ने बताए ।

पछिल्लो समय देशमा विभिन्न कुराहरु नियमन हुँदै गएको कुरालाई समेत जोड्दै अन्य ठुला ठुला देशका नीतिनियमका कुराहरु गर्नेहरु आज आफ्नो देशमा पनि नियम भित्र बसौं भन्दा विरोध गरिरहेको बताए । उनले केही काम अबुझ र बुझेर पनि अबुझ बनेकाहरुले देशमा राम्रो भएको हेर्न नचाहेको दाबी गर्दै देशको विकासका लागि सबै लाग्नुपर्ने बताए ।

Comments