TLC Banner

LLB मा भर्ना १० हजार, परीक्षामा ५ हजार मात्र सामेल

TU LLB
TU LLB

काठमाडौं : गत वर्ष एउटा समाचार निकै चर्चामा रह्यो, १ हजार २ सय क्षमताको नेपाल ल क्याम्पसमा १२ हजार विद्यार्थी एलएलबीमा भर्ना भए। क्षमताभन्दा अत्यधिक विद्यार्थी भर्ना गर्न नसक्ने भन्दै क्याम्पस प्रशासनले प्रवेश परीक्षा लिने निर्णय गर्‍यो। यसको विद्यार्थी संगठनले प्रतिवाद गरे। आन्दोलन गरे र फाराम भरेका सबै विद्यार्थीलाई भर्ना लिन क्याम्पसलाई बाध्य पारे।

ती विद्यार्थीमध्ये १० हजार २ सय ४१ जनाले परीक्षा फाराम भरे। परीक्षामा भने जम्मा ४ हजार ९ सय ९५ जना मात्र उपस्थित भए। उनीहरूको वार्षिक परीक्षा गत साता सुरु भएको छ। परीक्षामा न्यून परीक्षार्थी उपस्थित भएपछि त्रिवि परीक्षा नियन्त्रण कार्यालय र क्याम्पस दुवै दुःखित भएका छन्। आइतबारसम्म ३ विषयका परीक्षा सकिएको छ।

परीक्षा नियन्त्रण कार्यालयका सह–नियन्त्रक पशुपति अधिकारीका अनुसार पहिलो दिन ४ हजार ९ सय ९५ परीक्षार्थी उपस्थित भएका थिए। दोस्रो र तेस्रो दिन पहिलो दिनभन्दा परीक्षार्थी निकै घटेको उनले जानकारी दिए। ‘हरेक दिन परीक्षार्थी घटिरहेका छन्। यसले विद्यार्थी पढ्नभन्दा पनि लहडमा भर्ना हुने गरेको प्रमाणित गरेको छ’, उनले भने।

सबै परीक्षार्थीका लागि २५ परीक्षा केन्द्र तोकिएको थियो। सबै आउने आकलन गरेर क्याम्पसले सोहीअनुसार जनशक्ति पनि परिचालन गरेको छ। तर परीक्षार्थी थोरै हुँदा अधिकांश केन्द्रमा अनावश्यक जनशक्ति परिचालन गर्नुपरेको छ। अधिकारीले भने, ‘हुन त विश्वविद्यालयमा परीक्षार्थी आउँदा र नआउँदा कति नाफा र घाटा भयो भन्ने हुँदैन। तर परीक्षार्थी थोरै आउँदा परीक्षाको तयारी गरेका क्याम्पस र पनिकाको दुःख खेर गएजस्तै भएको छ।’

स्थानीय तहको निर्वाचन भएसँगै हरेक तहमा रोजगारीको अवसर खुल्ने र ती तहमा चुनावी प्रतिस्पर्धामा जान कानुनी ज्ञान भए सहज हुने भएकाले यस विषयमा भर्ना हुनेको लहर चलेको थियो। धान्नै नसक्ने गरी विद्यार्थी आएपछि क्याम्पसले प्रवेश परीक्षा लिएर ८ सय विद्यार्थी मात्र भर्ना गर्ने निर्णय गरेको थियो।

त्यसैअनुसार ५ हजार विद्यार्थी प्रवेश परीक्षामा सहभागी भए। तर प्रवेश परीक्षाकै दिन केही विद्यार्थीले सहजै भर्ना पाउनुपर्ने माग गर्दै प्रश्नपत्र च्यातेपछि क्याम्पसले बाध्य भएर सबैलाई भर्ना लिएको थियो।

प्रति विद्यार्थी एक वर्षको शुल्क ९ हजार १ सय ५० रुपैयाँ शुल्क क्याम्पसले लिएको थियो। ती विद्यार्थीबाट भर्नाबापत मात्रै १० करोड रुपैयाँभन्दा बढी उठेको थियो। - अन्नपूर्णपोष्टबाट

Last updated on Jan 28, 2026

Found this helpful? Share it with your friends.

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.