शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय द्धारा विज्ञप्ती जारी:
नेपालको संविधानले प्रत्येक नागरिकलाई अनिवार्य तथा नि:शुल्क आधारभूत शिक्षा एवम् निःशुल्क माध्यमिक शिक्षा प्राप्त गर्न पाउने मौलिक हकको प्रत्याभूत गरेको छ। सबै बालबालिकाले गुणस्तरीय शिक्षा प्राप्त गर्न र सिकारूमैत्री एवम् भयमुक्त वातावरणमा अध्ययन गरी आफ्नो क्षमता प्रदर्शनका निम्ति निर्धक्कसाथ सबैखाले परीक्षामा सहभागी हुन पाउनुपर्छ । विद्यालय स्तरका तथा सार्वजनिक परीक्षाका समयमा परीक्षार्थीलाई कुनै पनि प्रकारको शारीरिक तथा मानसिक रूपमा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि सञ्चालन गरिनु हुन्न ।
विद्यार्थीको सिकाइ उपलब्धिस्तर परीक्षण गर्न मूल्याङकनका विभिन्न स्थापित विधि तथा साधनहरूको प्रयोग गरिन्छन्। मूल्याङ्कनका विविध साधनहरूमध्ये व्यापक प्रयोग हुने एक प्रभावशाली साधनको रूपमा परीक्षा रहेको हुन्छ। परीक्षाका पनि फरक-फरक तौरतरिका हुन्छन् । सार्वजनिक परीक्षा मूलतः बाह्य निकायबाट सञ्चालन गरिने विश्वसनीय, वैध र वस्तुनिष्ठ परीक्षण विधिको रूपमा रहेको हुन्छ। नेपालमा पनि लामो समय अघिदेखि सार्वजनिक परीक्षाको अभ्यास भइआएको छ।
सैद्धान्तिक रूपमा हेर्दा यसका सबलता र सीमितता आफ्नै खालको भए पनि परीक्षाको योजना, परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण एवम् सम्परीक्षण, नतिजा प्रकाशनलगायतका व्यवस्थापकीय तथा प्राज्ञिक कार्यहरूमा कुनै किसिमको गडबडी हुन गएमा विद्यार्थीहरूले आफ्नो क्षमता प्रदर्शन गर्न नपाउने, परीक्षाको मर्यादा भङ्ग हुने, परीक्षणको विश्वसनीयता घट्न जाने जस्ता समस्या देखा पर्दछन् । तसर्थ, परीक्षा व्यवस्थापनामा सहभागी भएका केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक कर्मचारी, सुरक्षाकर्मीलगायत सबै कर्मचारीहरूले निष्पक्ष, मर्यादित र व्यवस्थित रूपमा परीक्षा सञ्चालनमा संवेदनशील भई आफ्नो जिम्मेवारी निर्वाह गर्नु पर्दछ।
२०७५ साल चैत १० गतेदेखि सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) को परीक्षा सञ्चालनका क्रममा प्रश्नपत्र बाहिरिएको तथा परीक्षामा खटिएका कर्मचारी र परीक्षार्थीबाट केही अमर्यादित कार्यहरू भएको सन्दर्भलाई ध्यान दिँदै २०७६ साल वैशाख १५ गतेबाट सुरू हुने माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) र २०७६ साल वैशाख २९ गतेबाट सुरू हुने कक्षा ११ को अन्तिम परीक्षालाई व्यवस्थित, मर्यादित र भयरहित रूपमा सञ्चालनका लागि अनुकल वातावरण सिर्जना गर्न तथा परीक्षाका क्रममा हुनसक्ने अनियमित गतिविधिहरू रोकथामका उपाय अपनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डलाई २२ बुँदे निर्देशन जारी गरिसकेको व्यहोरा जानकारी गराउन चाहन्छु।
आफ्नो उज्ज्वल भविष्य निर्माणमा अहोरात्र खटेर अध्ययन गरी आफ्नो ल्याकत प्रदर्शन गर्न आतुर सम्पूर्ण परीक्षार्थीहरूले परीक्षाको सर्वमान्य नियम पालना गरी कुनै डर, त्रासविना शान्त बातावरणमा परीक्षा दिन पाउनुपर्छ । परीक्षाको वातावरणलाई परीक्षार्थीमैत्री, मर्यादित, अनुशासित, व्यवस्थित बनाउनका निम्ति सम्पूर्ण अभिभावक, शिक्षक, शिक्षाप्रेमी, बृद्धिजीवी, नागरिक समाज, सुरक्षाकर्मी, सञ्चार जगतलगायत सम्बद्ध निकायहरू सबैले आ-आफ्नो ठाउँबाट सहयोग गर्न म आह्वान गर्दछु । भयमुक्त वातावरणमा परीक्षा सम्पन्न गर्नमा सक्रिय एवम् समन्वयकारी भूमिका निर्वाह गरिदिन प्रदेश तथा स्थानीय सरकारलाई विशेष अनुरोध गर्दछु।
अन्त्यमा, विद्यार्थीहरू राष्ट्रका अमूल्य गहना हुन्। हाम्रो परीक्षा प्रणालीका आन्तरिक तथा बाह्य कारणले कनै पनि परीक्षार्थीले कुनै प्रकारको प्रतिकूलता महशुस गर्न वा भोग्न नपरोस् । परीक्षा प्रणालीमा सानोभन्दा सानो त्रुटि हुन गएमा पनि व्यक्ति, समाज र राष्ट्रलाई नै क्षति पुग्ने कुरामा मन्त्रालय गम्भीर रहेकोले परीक्षा सञ्चालनमा व्यापक सुधार गरी अघि बढ्न राष्ट्रिय परीक्षा बोर्डलाई अनुरोध गर्दछु। साथै राष्ट्रिय सरोकारको विषय रहेको कक्षा ११ र १२ को परीक्षा सञ्चालनमा सकारात्मक भूमिका निर्वाह गरी सहयोग गरिदिनुहुन सम्बद्ध सबैमा हार्दिक अपील गर्दछु।
धन्यवाद !
गिरिंराजमणि पोखरेल (मन्त्री)
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
मिति : २०७६/०१/१२