TLC Banner

सामुदायिक विद्यालयमा विद्यार्थीको बढ्दो चाप

Students Attraction in Community School
Students Attraction in Community School

प्रताप विष्ट (हेटौंडा)- आधुनिक राष्ट्रिय मावि हेटौंडामा भर्ना हुन आउने बोर्डिङका विद्यार्थीको चाप थेगिनसक्नु छ । विद्यालयले प्रवेश परीक्षा लिएर मात्र भर्ना सुरु गरेको छ । प्रवेश परीक्षा लिएकामध्ये मुस्किलले १२ देखि १५ प्रतिशत मात्र भर्ना हुन सक्ने देखिएको छ । कक्षाकोठा र शिक्षकको अभावले योग्य विद्यार्थीलाई पनि फेल गर्नुपर्ने विद्यालयको बाध्यता छ ।

हेटौंडा उपमहानगरपालिका ४ स्थित यस सामुदायिक विद्यालयमा १ कक्षादेखि ३ कक्षासम्म भर्ना हुन २ सय ५० जनाले र ८ र ९ कक्षामा भर्ना हुन ९ सय ५० जनाले फारम भरेका छन्‌ । भर्ना हुन आएकामध्ये ८० प्रतिशत बोर्डिङका विद्यार्थी रहेको आधुनिक राष्ट्रिय माविका प्रअ वीरवंश बैठाले बताए । विद्यालयले ८ र ९ कक्षामा भर्ना हुन आएका विद्यार्थीको शुक्रबार प्रवेश परीक्षा लिएको छ।

जिल्लामा भर्ना अभियान सञ्चालनसँगै विभिन्न विद्यालयका शिक्षक विद्यार्थी खोज्दै घरदैलोमा पुगिरहेका बेला उक्त विद्यालयमा भने भर्ना हुने विद्यार्थीको भीड लागेको छ । विद्यालय लगातार चौध (१४) पटक एसएलसी /एसईई परीक्षामा जिल्ला प्रथम भएको छ । पढाइ गुणस्तर र विद्यार्थी अनुशासित भएपछि विद्यार्थी खोज्न कतै जानैपर्दैन भन्ने उदाहरण यो विद्यालय बनेको छ । 

विद्यालयले वैशाख २ गतेदेखि भर्ना सुरु गरेको हो । स्कूलले ४ र ७ कक्षामा भर्ना खोलेको छैन । पुरानै विद्यार्थीले पुग्ने भएकाले भर्ना नखोलेको प्रअ बैठाले बताए । थप विद्यार्थी लिनका लागि शिक्षक र कक्षाकोठाको अभाव रहेको विद्यालय जनाएको छ । दरबन्दीअनुसार शिक्षक उपलब्ध नभएकाले पनि भर्ना लिन नसकिएको विद्यालयले जनाएको छु । विद्यालयमा निजी स्रोत, राहत  र दरबन्दीका गरेर ४२ जना शिक्षक कार्यरत छन्‌ । विद्यालयमा हाल १ हजार ९ सय ५३ जना विद्यार्थी छन्‌ । स्कुलमा १० बजेभित्र प्रवेशद्वारबाट शिक्षक र विद्यार्थी छिरिसक्नुपर्छ । एक मिनेट ढिला भए पनि छिर्न पाइँदैन ।

विद्यालयमा तीन/तीन महिनामा परीक्षा लिने गरिन्छ । शुक्रबार पनि पूरा कक्षा पढाइ हुन्छ । शनिबार कक्षागत विद्यार्थीका अभिभावक बोलाएर परामर्श गर्ने शिक्षक कृष्णबाबु श्रेष्ठले बताए । 

२०२४ सालमा स्थापना भएको उक्त विद्यालयले प्रवेश परीक्षा लिएर मात्र स्कुलमा भर्ना लिने पद्धति विगत ६ वर्षदेखि सञ्चालन गर्दै आएको हो । विद्यालयले १ र २ कक्षाका विद्यार्थीको पढाइलाई बढी ध्यान दिने गरेको छ। १ र २ कक्षाका विद्यार्थीको मनोभावना बुझेर पठनपाठन गराउन सकियो भने माथिल्लो कक्षा स्वतः राम्रो हुन्छ,' प्रअ बैठाले भने, 'जगको ख्याल नगर्ने धुरीमात्र हेर्ने प्रवृत्तिले शिक्षाको गुणस्तर वृद्धि हुँदैन ।' प्रअ बैठाले थपे, विद्यार्थीको उज्ज्वल भविष्यका लागि शिक्षक कठोर र इमानदार बन्नुपर्छ ।' 

स्कुलले आन्तरिक परीक्षा र लिखित अभ्यासलाई बढी जोड दिने गरिएको छ । आन्तरिक परीक्षामा कमजोर देखिएका विद्यार्थीलाई थप मिहिनेत गर्न उत्साह भर्ने, अभिभावकलाई पनि स्कूलमा डाकेर छोराछोरीका बारेमा जानकारी पनि दिने विद्यालयले जनायो । हेटौंडा बजारको मध्यभागमा रहेको उक्त विद्यालय मकवानपुरको शैक्षिक 'रोल मोडेल' को रूपमा स्थापित भएको जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख कृष्णप्रसाद घिमिरेले बताए । "जिल्लाको शैक्षिक नेतृत्व नै आधुनिकले लिएको.छ, यसबाट सबैले सिक्नुपर्छ र सिक्दै पनि गएका छन्‌ उनले भने ।

विद्यालयमा अनुशासन र शैक्षिक अवस्था मात्र होइन, वातावरण पनि रमणीय छ । विद्यालयको सबै चौर हरिया रुखले ढाकेको छ ।

खेलकदलगायत अन्य अतिरिक्त क्षेत्रमा पनि स्कुल अग्रस्थानमा छ । विद्यार्थी र शिक्षकको प्राथमिक उपचार गर्न र स्वास्थ्य चेतना दिनका लागि प्रदेश-३ सरकारले उक्त विद्यालयमा औषधिसहित नर्सको व्यवस्था गरिदिएको छ । -कान्तिपुर दैनिक बाट

Last updated on Jan 27, 2026

Found this helpful? Share it with your friends.

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.