TLC Banner

विद्यालयको साढे ३३ लाख रुपैंया भन्दा धेरै रकम हिनामिना - अख्तियारद्वारा मुद्दा दायर

CIAA
CIAA

कपिलवस्तुको समयनाथ माध्यमिक विद्यालयको साढे ३३ लाख रुपैंया भन्दा धेरै रकम हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोही विद्यालयका पूर्व प्रधानाध्यापक, शिक्षक र व्यवस्थापन समिति अध्यक्ष विरुद्ध मुद्दा दायर गरेको छ ।
वर्तमान प्रधानाध्यापक गिरीराज गैरे, तत्कालीन प्रधानाध्यापक थानेश्वर खनाल जैसी , शिक्षक दधिराम न्यौपाने र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छविलाल भुसालको मिलेमतोमा विद्यालयमा अनियमितता गरेको उजुरी उपर अनुसन्धान हुँदा ३३ लाख रुपैंया भन्दा धेरै रकम हिनामिना भएको फेला परेको अख्तियारको दावी छ ।

अख्तियारले उक्त विद्यालयका तत्कालीन प्रधानाध्यापक थानेश्वर खनाल जैसीले भ्रष्टाचार गरेको २१ लाख ३९ हजार ६ सय ५ रूपैया ४ पैसा विगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो । यस्तै सोही विद्यालयका शिक्षक दधिराम न्यौपाने र विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष छविलाल भुसालले भ्रष्टाचार गरेको ६ लाख ७ हजार ७० रूपैया ८६ पैसा विगो कायम गरि मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुुसन्धान आयोगका का प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विद्यालय व्यवस्थापन समिति शिक्षा नियमावली बमोजिम नभएको, महायज्ञमा संकलित रकममा हिनामिना गरेको, उनीहरुले एक आपसको मिलेमतोमा विद्यालयको लागि निकासा भएको रकम आफैले झिकी खाईमासी हिनामिना गरेको, दरबन्दीका शिक्षकलाई अनियमित तवरले तलबभत्ता खुवाएको,  विभिन्न निकायबाट विभिन्न शीर्षकमा आएको रकम लापरवाही गरी हिनामिना गरेको र विद्यालयको सम्पूर्ण क्रियाकलाप तथा सञ्चालनमा लापरवाही गर्दै आएको उजुरीका सम्बन्धमा अनुसन्धान गर्दा उक्त तथ्य फेला परेको अख्तियारको दावी गरेको छ । त्यस्तै विद्यालयमा दरबन्दीका शिक्षक बढी हुँदाहुँदै निजी स्रोतमा शिक्षक राखी विद्यालयलाई हानी पुर्याएको अख्तियारको दावी छ ।

Last updated on Jan 24, 2026

Found this helpful? Share it with your friends.

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.