The London College Top Banner Ad

एक विद्यालय एक नर्स कार्यक्रम - विद्यार्थीको मन जित्दै विद्यालयमा नर्स

Nurse

काठमाडौँ, वैशाख १५ गते । सानो कोठा , झ्यालतिर बिरामी राख्ने बेड । भित्तामा मानिसको उमेरअनुसार रक्तचाप र नाडीको गति उल्लेखित बोर्ड टाँस्सिएका छन् ।  एक दराजमा केही औषधि र अन्य मेडिकल उपकरण मिलाएर राखिएका छन् । एक नर्स आफ्नो कार्यकक्षको सरसफाइ गर्दै हुनुहुन्थ्यो । त्यही बेला दुई विद्यार्थी आए । ‘सिस्टर प्रेसर चेक गरिदिनुस् न’ विद्यार्थीको आग्रहपछि नर्स ती बालिकाको रक्तचाप परीक्षण गर्न लाग्नुभयो । 

कीर्तिपुर पाँगामा रहेको जनसेवा माध्यमिक विद्यालय ‘नर्स कक्ष’को यो जस्तै दृश्य आजभोलि धेरै विद्यालयमा देखिन थालेको छ । विद्यालयको यो कार्यकक्ष स्टाफ नर्स निर्मला महर्जन अर्थात ‘सिस्टर निर्मला’ हुनुहुन्थ्यो । ‘एक विद्यालय एक नर्स कार्यक्रम’ मातहत सिस्टर निर्मला पाँगाको यो स्कुलमा आएको पाँच महिना भयो । उहाँ आफ्नो कार्यकक्ष अर्थात् स्कूल क्लिनिकमा विद्यार्थी स्वास्थ्य जाँच र सामान्य उपचार गर्नुहुन्छ । 

‘विद्यार्थी मसँग निकै झ्याम्मिएका छन्,’ उहाँले भन्नुभयो, ‘नर्स मात्र नभई उनीहरूको साथी भएकी छु ।’ 

स्कूलमै नर्स र क्लिनिक भएपछि सानातिना स्वास्थ्य समस्या परेका बेला सजिलो भएको जनसेवा माविमा कक्षा ७ अध्ययनरत मनिष विश्वकर्माले बताउनुभयो । विद्यालयमा खेलकूदको बेला घाउचोट लाग्दा मेडिकल र क्लिनिक जानुपर्ने झण्झटबाट समेत मुक्त भएको उहाँले बताउनुभयो । कक्षा ६ मा अध्ययनरत लुनिभा थान्दारले भने तनाव सुनाउने व्यक्तिका रुपमा नर्सलाई छान्नुभएको छ । 

नर्सको रुपमा विद्यालयमा आएदेखि कक्षाकोठाको सरसफाइ, विद्यार्थीको स्वास्थ्यस्थिति जाँच, खानेपानी, स्वास्थ्य परामर्श दिने गरिएको महर्जनले बताउनुभयो । 
स्कूल नर्सका अनुसार अधिकांश विद्यार्थीको दन्त स्वास्थ्य कमजोर देखिएको छ । दाँत नमाझ्ने, कीराले खाने, मुख गन्हाउने जस्ता समस्या मुख्य रहेको भक्तपुरको बागीश्वरी उच्च माविकी स्कून नर्स सिर्जना पन्थ बताउनुहुन्छ । पाँच कक्षासम्मका विद्यार्थीमा दाँत र मुखसम्बन्धी स्वास्थ्य समस्या रहेको उहाँले बताउनुभयो । 

त्यस्तै उहाँले किशोरावस्थाका छात्रामा महिनावारी सरसफाइको अवस्था कमजोर रहेको पाउनुभएको छ । यो समस्या विद्यार्थीमा मात्र नभई शिक्षक तथा कर्मचारीमा समेत रहेको उहाँको अनुभव छ । ‘विद्यालयका स्टाफहरुसमेत महिनावारी हुँदा कहिलेकाहीँ दुई दिनसम्म स्यानिटरी प्याड नफेरेको सुनाएका थिए ।’ उहाँले भन्नुभयो । आफूले परामर्श दिन थालेपछि भने यो बानीमा बिस्तारै परिवर्तन आएको उहाँले सुनाउनुभयो । 

विद्यार्थीको तनाव व्यवस्थापनमा पनि सहयोगी बनेका छन्, स्कुल नर्सहरु । आफूले पाँच महिनाको अवधिमा आत्महत्याको प्रयास गरेका १५ जना जति विद्यार्थीलाई परामर्श दिएको नर्स पन्थ बताउनुहुन्छ । 

उहाँले भन्नुभयो, ‘हात काटेका, डोरी लिएर हिँडेका, पोखरीमा हाम फाल्न लागेका विद्यार्थी भेटेँ ।’ यस्ता विद्यार्थीले आफ्नो कुरा राख्ने ठाउँ नै नभेटेको बताउने गरेका उहाँले बताउनुभयो । विशेष गरी कक्षा ९ र १० का विद्यार्थीमा मनोवैज्ञानिक स्वास्थ्यको समस्या रहेको जनसेवा माविकी नर्स निर्मला महर्जनले बताउनुभयो । 

यसअघि विद्यार्थीका यस्ता समस्या शिक्षक, अभिभावकलाई समेत थाहा हुँदैनथ्यो । स्कूल नर्स आएपछि भने विद्यार्थीको शारीरिक र मानसिक स्वास्थ्यस्थितिको जानकारी हुने र उपचार समेत हुने गरेको वागीश्वरी उच्च मावि, भक्तपुरका प्राचार्य कृष्णप्रसाद धञ्छाले बताउनुभयो । 

विद्यार्थीको किशोरावस्थाको शारीरिक र मनोवैज्ञानिक परिवर्तनको व्यवस्थापन गर्नमा समेत नर्स सहयोगी बनेको उहाँको भनाइ छ । विद्यालयमा जंक फुड नियन्त्रण, महिनावारीसम्बन्धी समस्यामा सहजीकरण, कुलतमा लागेका विद्यार्थीको सहयोगीका रुपमा नर्सको भूमिका प्रभावकारी भएको प्राचार्य धञ्छाले बताउनुभयो । विद्यार्थीको तत्कालको र दीर्घरोग पहिचान समयमा नै हुन सकेको उहाँले बताउनुभयो । 

विद्यालय नर्सको व्यवस्था भएपछि विद्यार्थीको अनुपस्थितिको दर नाटकीय ढंगले घटेको विभिन्न विद्यालयका प्रधानाध्यपक तथा शिक्षकले बताउनुभएको छ । सिकाइको स्तर र स्वास्थ्य चेतनामा निकै अभिवृद्धि भएको उहाँको भनाइ छ ।

प्रदेश – ३ को सामाजिक विकास मन्त्रालयले परीक्षण कार्यक्रमको रुपमा ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम लागू गरिरहेका छ । धेरै विद्यार्थी भएका र भौतिक पूर्वाधार राम्रो भएका विद्यालय छनौट गरी लागू गरिएको मन्त्रालयमा यो कायक्रमको संयोजन गरिरहनुभएका पब्लिक हेल्थ नर्स मिलन घिमिरेले जानकारी दिनुभयो । 

आर्थिक वर्ष २०७५/७६ को मङ्सिरदेखि प्रदेश – ३ का १३ जिल्लाका २० वटा विद्यालयमा यो कार्यक्रम चलिरहेको छ । स्कूल नर्सका लागि रोकथाम र प्रवद्र्धनात्मक क्षेत्रमा आठ वटा कार्यक्षेत्र तोकिएका छन् । हालसम्मको समीक्षा अनुसार कार्यक्रम निकै प्रभावकारी भएकोले यसको स्थायित्वका लागि छलफल भइरहेको उहाँले बताउनुभयो । 

कार्यक्रम लागू भएका विद्यालयमा अनुपस्थिति दर र जंक फुड प्रयोगको अवस्था शून्यमा झरेको उहाँले दावी गर्नुभयो । नर्सका कारण सबैभन्दा सजिलो छात्रालाई भएको उहाँले बताउनुभयो । 

प्रदेश सरकारले लागू गरिरहेको यो कार्यक्रमका लागि संघमा रहेको स्वास्थ्य मन्त्रालयले प्राविधिक सहयोग गरिरहेको छ । विद्यालयमा नर्स अत्यावश्यक र प्रभावकारी भएकाले यसको दीगो व्यवस्था हुनुपर्ने स्वास्थ्य मन्त्रालय, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका निर्देशक रोशनी लक्ष्मी तुईतुई बताउनुहुन्छ । यसको प्रभावकारितका कारण प्रदेश १ ले समेत १४ विद्यालयमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम लागू गर्न थालेको जानकारी उहाँले दिनुभयो । -गोरखापत्र बाट

Comments