TLC Banner

कक्षा ११ र १२ को परीक्षाको तयारी पुरा; परीक्षा केन्द्र निगरानी सिसी क्यामरा बाट

NEB Board
NEB Board

भक्तपुर, बैशाख १४ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ र कक्षा १२ को वार्षिक परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको छ।

देशभर एकैसाथ १५ गते आइतबार बिहान ७ बजेदेखि शुरु हुने कक्षा १२ र वैशाख २९ गतेबाट शुरु हुने कक्षा ११ को परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए।

कक्षा १२ को परीक्षामा चार लाख २८ हजार ५२ र कक्षा ११ को परीक्षामा पाँच लाख आठ हजार ४९४ परीक्षार्थी गरी कूल नौ लाख ३६ हजार ५४६ परीक्षार्थीको सहभागिता रहने बताउँदै उनले कक्षा १२ र कक्षा ११ को परीक्षामा चार लाख ४२ हजार, ९९७ छात्र र चार लाख, ९३ हजार ५४९ छात्राको सहभागिता रहने जानकारी दिए।

आगामी २६ गते सम्पन्न हुने कक्षा १२ को परीक्षातर्फ साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीको सहभागिता रहनेछ। यसैगरी वैशाख २९ गते शुरु भई जेठ ८ गते सम्पन्न हुने कक्षा ११ को परीक्षामा साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीको सहभागिता रहनेछ।

सबभन्दा कम मनाङ जिल्लाबाट कक्षा ११ को परीक्षामा ५१ र कक्षा १२ मा ५९ तथा सबैभन्दा धेरै काठमाडौँ जिल्लाबाट कक्षा ११ मा ७१ हजार ५२७ र कक्षा १२ मा ६२ हजार ५८८ परीक्षार्थी सहभागी हुँदैछन्। बोर्डले परीक्षाका लागि देशभर एक हजार १०७ परीक्षा केन्द्र निर्धारण गरेकामा सबभन्दा बढी परीक्षा केन्द्र काठमाडौँमा १२२ वटा र सबैभन्दा कम मनाङ-मुस्ताङमा एक/एक परीक्षा केन्द्र निर्धारण गरेको बोर्डका सदस्यसचिव दुर्गा अर्यालले बताए।

परीक्षामा कम श्रवणशक्ति भएका, दृष्टिविहीन वा सुस्त मनस्थिति वा अन्य प्रकृतिको अपाङ्गता भएका परीक्षार्थीका लागि परीक्षामा विशेष व्यवस्था गरिएको छ। कारागार वा बालसुधार गृहमा रहेका परीक्षार्थीलाई पनि परीक्षा दिने व्यवस्था मिलाइएको छ।

परीक्षा केन्द्रमा सिसी क्यामरा:

गत चैतमा सम्पन्न एसइई परीक्षामा प्रश्न पत्र बाहिरिएपछि कक्षा ११ र १२ को परीक्षामा त्यस्तो त्रुटी नहोस् भनेर परीक्षा बोर्डले सबै प्रश्नपत्रको सुरक्षाका लागि सिसी क्यामरा जडान गरेको छ। बोर्डले केन्द्र नजिकै सिसीटिभीसहितको सुरक्षा घेराभित्र रहेको कक्षबाट प्रश्नपत्र लैजाँदा केन्द्राध्यक्षलाई मोबाइलसमेत बोक्न निषेध गरेको जानकारी दिँदै उनले बोर्डको मुख्यालयमा रहेको नियन्त्रण कक्षबाटै देशैभरको परीक्षाबारे जानकारी लिने व्यवस्था गरिएको बताए।

परीक्षामा जिल्ला परीक्षा समन्वय समिति, केन्द्राध्यक्ष, बोर्डका अधिकारी, मन्त्रालयका अधिकारी, प्रदेशस्थित सामाजिक विकास मन्त्रालय, शिक्षा तथा मानव स्रोत केन्द्र, प्रदेश शिक्षा निर्देशनालयबाहेक अन्यलाई मोबाइल फोन लैजान निषेध गरिएको छ। परीक्षामा प्रश्नपत्रमा समस्या आए वा प्रश्नपत्र गलत भए तत्काल केन्द्राध्यक्षसँग सूचना पुग्ने गरी ‘बल्क एसएमएस’को व्यवस्था गरेको छ भने कुनै त्रुटि देखिए बोर्डको मुख्यालयमा रहेको विज्ञ समूहले त्रुटि सच्याएर बोर्डलाई जानकारी गराउँदै यसबारे सबै केन्द्रमा जानकारी गराउने व्यवस्था गरेको छ।

परीक्षामा अनियमितता गरेको पाइए जिल्ला परीक्षा समन्वय समितिलाई तत्काल केन्द्राध्यक्ष परिवर्तन गर्नसक्ने अधिकार दिइएको छ भने परीक्षामा अमर्यादित काम गर्र्ने व्यक्तिलाई छ महीना कैद र रु एक लाख जरिवाना गर्नसक्ने व्यवस्था गरिएको अर्यालले बताए। बोर्डले यो वर्षदेखि विद्यार्थीको नाम, थर, जन्ममिति, रजिस्टे«सन, विषय र परीक्षामा रुजु गर्ने व्यवस्था मिलाएको छ।

बोर्डले आफ्नो वेबसाइटमा परीक्षा मेमोमा गएर पुनः रजिस्ट्रेसन नम्बर इन्ट्री गरी हेर्नसक्ने व्यवस्था गरेको सदस्य–सचिव अर्यालले बताए। परीक्षाका लागि प्रदेश १ मा १९७, २ मा ११५, ३ मा ३०३, गण्डकीमा ११८, प्रदेश ५ मा १६२, कर्णालीमा ९३ र सुदूरपश्चिममा ११९ परीक्षा केन्द्र निर्धारण गरेको छ। परीक्षामा एक हजार १०७ केन्द्राध्यक्ष, एक हजार ४८९ सहायक केन्द्राध्यक्ष, १५ हजार १०७ निरीक्षक, एक हजार ४८९ कर्मचारी, दुई हजार २१४ कार्यालय सहयोगी र १३ हजार १८४ सुरक्षाकर्मीसहित ३४ हजार ४९० जनशक्ति परिचालन गरिने भएको छ ।- रासस

Last updated on Jan 21, 2026

Found this helpful? Share it with your friends.
Related institute

NEB - National Examinations Board

View profile

Services offered 3

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.